उपत्यकामा निषेधाज्ञा भदौ १७ गतेसम्म बढाउन सिफारिस
काठमाण्डौ । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले काठमाडौं उपत्यकाभरि निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी तुलसीराम पौडेलले बताए ।
उनका अनुसार सो सिफारिसबारे औपचारिक निर्णय हुन बाँकी नै छ । सो सिफारिसबारे आवश्यक निर्णय लिन अहिले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसिरहेको छ । सिफारिस लागू भए अब एक साता अर्थात् भदौ १७ गतेसम्म उपत्यकामा निषेधाज्ञा कायम रहन्छ। निषेधाज्ञा कार्यान्वयन भएको बुधबार एक साता हुँदैछ । ‘सबै मेयर साबहरूले निषेधाज्ञाले कोरोना संक्रमणलाई रोक्न फाइदा पुगेको भन्दै समय थप गर्न सिफारिस गर्नुभएको छ,’ पौडेलले भने ।