मास्क धोएर लाउन मिल्छ ? दिनदिनै फेर्नुपर्छ कि एउटै लगाइरहे हुन्छ ?

डाक्टर अनुप सुवेदी

कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने सायद अहिलेसम्म सबैले बुझिसके । तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ ।

सुरूका दिनमा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर धेरैले त्यस्तै लगाए। पछिल्लो समय भने त्यो मास्क कोरोना संक्रमण रोक्न भरपर्दो मानिएन। त्यसले मास्क लगाउने व्यक्ति सुरक्षित रहे पनि ऊ संक्रमित छ भने अरूलाई सुरक्षा नगर्ने कुरा सार्वजनिक भयो। कतिपय व्यक्तिले भित्र सर्जिकल मास्क लगाएर बाहिर एन–९५ लगाएको पनि देखियो । हामीकहाँ सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने चलन पनि छ । यति मात्र होइन, कपडाको मास्क लगाउनु ठिक हो कि होइन र आफूलाई संक्रमण नभए पनि मास्क लगाएर हिँड्न किन जरुरी छ भन्ने अन्यौल पनि हामीकहाँ उत्तिकै छ ।

सबभन्दा पहिला एन–९५ मास्कको कुरा गरौं । भल्भ भएको एन–९५ मास्कले बाहिरबाट भित्र जाने हावा त रोक्छ, तर भित्रबाट बाहिर आउने हावा रोक्दैन । हामीले सास फेर्दा, खोक्दा वा हाच्छियूँ गर्दा थुकको छिटा बाहिर नजाओस् भनेर मास्क लगाउने हो । तर, भल्भ भएको एन–९५ मास्कले त्यस्तो छिटा बाहिर जानबाट रोक्दैन । यसले बाहिरको छिटा भित्र प्रवेश गर्न भने दिँदैन । कोरोना महामारी नियन्त्रण गर्न आफू मात्र होइन, अरूलाई पनि संक्रमणबाट जोगाउनुपर्ने हुँदा यस्तो मास्क लगाउनु ‘सामाजिक रूपमा अनुत्तरदायी व्यवहार’ हो । कतिपय मान्छेले एन–९५ भित्र छुट्टै सर्जिकल मास्क पनि लगाउन थाल्नुभएको छ । तर, सर्जिकल मास्क लगाएपछि अर्को लगाउनुपर्दैन, मास्क लगाउँदा कत्तिको टाइट फिटिङ छ भनेर पनि ध्यान दिनुपर्छ । माथि, तल वा छेउछाउबाट हावा छिर्ने गरी खुकुलो छ भने त्यसले संक्रमणबाट बचाउन सक्दैन । यस्तो अवस्थामा कपडा राखेर, टेप लगाएर वा अन्य तरिकाबाट मास्कलाई टाइट फिटिङ गराउनुपर्ने हुन्छ ।

मास्क धोएर फेरि–फेरि प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्नेबारे प्रस्टसँग भन्नुपर्दा ‘एन–९५ र सर्जिकल मास्क धुन मिल्दैन । यस्तो मास्क धोएपछि त्यसको छिद्रहरूमा रहेको कपडा बिग्रन्छ । भाइरस सजिलै छिर्न सक्छ । यस्तो महामारीको समयमा मास्क लगाएर हिँड्दा त्यसको बाहिरी पत्रमा संक्रमित व्यक्तिको थुकको छिटा परेको छ भन्ने हामीले सोच्नुपर्छ । त्यहाँ कोरोना भाइरस हुन सक्छ भन्ने हामीले ख्याल राख्नुपर्छ । त्यसैले त्यो मास्क भोलिपल्ट फेरि प्रयोग गर्नु त परैको कुरा, त्यसको बाहिरी पत्र हातले छुन पनि हुँदैन । कसैगरी छोइहाल्यो भने हात साबुनपानीले धुनुपर्छ वा स्यानिटाइजर लगाइहाल्नुपर्छ । तर, धुन नमिले पनि मास्क पुनः प्रयोग गर्ने तरिका छ । हामी स्वास्थ्यकर्मीहरू आज एउटा मास्क लगाउँछौं । त्यसलाई खोलेर कोठामा अलक्क कतै झुन्ड्याएर राख्छौं । भोलि फेरि अर्को लगाउँछौं । त्यसलाई पनि उसैगरी झुन्ड्याएर राख्छौं । यसरी चार दिनसम्म हामी चारवटा छुट्टाछुट्टै मास्क लगाउँछौं । पाँचौं दिनमा म पहिलो दिन लगाएको मास्क लगाउँछु । यसको कारण के भने, पहिलो दिन लगाएको मास्कको बाहिरी पत्रमा भाइरस परेको छ भने पनि त्यो ७२ देखि ९६ घन्टासम्म मरिसकेको हुन्छ । पहिलो दिन लगाएको मास्क चार दिनपछि फेरि लगाउँदा सुरक्षित हुन्छ । र, यसरी हामी मास्क नधोइकन पनि पुनः प्रयोग गर्न सक्छौं । यसबीच मास्क च्यात्तियो, प्वाल पर्‍यो वा मैलियो भने त्यसलाई सिलाउने वा टाल्ने होइन, बरू फेरिहाल्नुपर्छ। सिलाएको, टालेको मास्कले पनि हामीलाई भाइरसबाट जोगाउँदैन । सँगसँगै, आफूले खोक्दा वा हाच्छिउँ गर्दा थुकका छिटाले मास्कको भित्री भाग भिजेको छ भने पनि अर्को फेरिहाल्नुपर्ने हुन्छ ।

पछिल्लो समय विदेशतिर र नेपालमा पनि कपडाको मास्क सिलाएर लगाउने चलन बढेको छ । केही नेपाली व्यवसायीले पनि कपडाको मास्क बनाएर बेच्न थालेका छन् । मास्क बनाउँदा दुई खालका कपडा प्रयोग गर्नुपर्छ । कटन र फलाटिनका कपडा बढी प्रचलित छन् । यसरी दुई किसिमका कपडाको पत्र राखेर बनाइएको मास्क सुरक्षित हुन्छ । ‘कपडाको मास्क धुन मिल्छ । धुँदा त्यसको फेब्रिक बिग्रँदैन । मास्कमा दुई किसिमका कपडाको पत्र प्रयोग भएको छ भने त्यसले एक किसिमको बिजुलीको तरंग पैदा गर्छ । त्यस्तो मास्कको बीचको तहमा बिजुली हुन्छ, जसले भाइरस छिर्न दिँदैन । यस्तो मास्क एन–९५ जत्तिकै प्रभावकारी हुन्छ ।

श्वासप्रश्वासका क्रममा मान्छेको नाक–मुखबाट निस्कने थुकका छिटाहरूबाटै यो भाइरस सर्ने हुँदा मास्क लगाउनु जरुरी छ । अर्को मान्छेले खोकेको वा बोलेको बेला मुखबाट निस्कने छिटाबाट जोगिन मात्र मास्क लगाउने होइन । त्यसो गर्दा थोरै मान्छेले मात्र मास्क लगाउँछन् । यसरी थोरै मान्छेले मात्र लगाउँदा संक्रमणको लक्षण नभएका मान्छे मास्क नलगाई हिँड्छन् । लक्षण नभएका मान्छेलाई आफू संक्रमित भएको थाहा हुँदैन । उसले सास फेर्दा निस्कने छिटाबाट अरूलाई रोग सर्छ । त्यसैले, मास्क सबैले लगाउनुपर्छ। आफूलाई संक्रमणको कुनै लक्षण छैन भने पनि मास्क लगाएर हिँड्ने बानीले यो रोग सर्न पाउँदैन ।

सबैले सर्जिकल मास्क, एन–९५ मास्क वा दुई–तीन तहको कपडाको मास्क लगाएर हिँड्यौं र सही ढंगले लगायौं भने कोरोना भाइरसको महामारी आफैं नियन्त्रण हुने विभिन्न अध्ययनले देखाएको छ । यसको व्यवहारिक प्रयोग जापानको अनुभवले देखाएको छ । जापानको जनसंख्यामा वृद्धहरूको अनुपात बढी छ । तै पनि त्यहाँ लकडाउन गरिएन । अरू देशको तुलनामा त्यहाँ मृत्युदर र संक्रमण दर पनि कम छ । जापानमा सबैले मास्क लगाएर हिँड्नु नै यसको एउटा मुख्य कारण हो ।

मास्क लगाउनु भनेको आफू जोगिन मात्र होइन, अरूलाई जोगाउन पनि हो । आफूलाई खोकी लागिरहेको छ वा कुनै किसिमको रोग छ, तर मास्क लगाएको छैन भने अरूको निम्ति अभद्र वा गैरजिम्मेवार व्यवहार गरेको ठानिन्छ । यो जापानको सामाजिक मान्यता नै हो । यसले जापानमा लक्षण नभएका मान्छेबाट रोग सर्न पाउँदैन । त्यसले समुदायमा संक्रमण एकदमै नियन्त्रणमा छ ।