पारिश्रमीक पुनरावलोकन गर्न चिया मजदुरको माग

बिर्तामोडै । चिया श्रमीक आबद्ध मजदुर संघहरुले पारिश्रमीक पुनरावलोकनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै २१ दिनसम्ममा आफ्ना मागहरु सम्बोधन गर्न आग्रह गरेका छन् ।

झापा तथा इलामका चिया सम्बद्ध संघसंस्था, सहकारी र कम्पनीहरुसँग ४ बुँदे मागपत्र पेश गर्दै नेपाल कृषि तथा बगान क्षेत्र श्रमीक संघ, नेपाल चिया बगान श्रमीक संघ र अखिल नेपाल चिया मजदुर संघ केन्द्रीय समितिले नौवटा चिया उत्पादक कम्पनी, सहकारी तथा संघसमक्ष प्रत्येक दुई–दुई बर्षमा चिया मजदुरको ज्याला समायोजन गर्ने पूर्व सहमति र कानूनी प्रावधान तथा श्रमऐनमा उल्लेखित ब्यवस्था बमोजिम पारिश्रमीक पुनरावलोकनको माग गरेका हुन् ।

नेपाल चिया उत्पादक संघ, साना किसान झापाली चिया ब्यवसायी संघ, नेपाल चिया विकास निगम लि। , साना किसान सहकारी चिया प्रशोधन कारखाना, साना किसान चिया उत्पादक सहकारी संस्था, पाराखोपी साना किसान चिया सहकारी संस्था, शुभ चिया किसान सहकारी संस्था झापा र हिमालयन अर्थोडक्स चिया उत्पादक संघ र केन्द्रीय चिया सहकारी संस्था इलामलाई मागपत्र बुझाउनुअघि विर्तामोडमा पत्रकार भेटघाट आयोजना गरी चारसूत्रीय माग अघि सारेका हुन् ।

श्रम ऐन २०७४ को दफा १२३ बमोजिम सौदावाजी समिति गठन गरेर सोही ऐनको दफा १०६ बमोजिम न्युनतम पारिश्रमीक पुनरावलोकन गर्न, २०७५ साउन २ गतेदेखि बृद्धि भएको रु १०७ रुपैया पारिश्रमीक मजदुरलाई उपलब्ध गराउन, सोही ऐनको नियमावली २०७५ मा उल्लेखित पारिश्रमीक, उपदान, सञ्चयकोष, सार्वजनिक विदा, विरामी विदा, घरविदा, प्रसूती, क्रिया विदा तथा चाडपर्व खर्च सम्बन्धी ब्यवस्था कार्यान्वयन र सामाजिक सुरक्षाकोषमा सूचिकृत गर्न माग गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले तोकेको मापदण्ड अनुरुप आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको ब्यवस्था गर्न पनि पत्रकार भेटघाटमा वितरित विज्ञप्तिमा आग्रह गरिएको छ । दिपक तामाङ, सिता सापकोटा, सहिकुमार राई, भुपाल सापकोटा, शन्तकुमार राई, यज्ञप्रताप अधिकारी, नेत्रप्रसाद दाहाल, मिलन राई, उमेश रेग्मी सदस्य र चम्पा श्रेष्ठ, जीवन खड्का, तिलक दर्जी वैकल्पिक सदस्य रहेको सौदावाजी समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, झापा, इलाम, पाँचथर र धनकुटाका प्रमुख जिल्ला अधिकारी, नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघलाई कार्यार्थका लागि बोधार्थ पठाउने जनाएको छ ।

अन्य क्षेत्रका श्रमीकहरुले प्रतिदिन न्युनतम ५ सयदेखि ७ सय रुपैयाँ ज्याला पाएपनि चिया श्रमीकहरुले दैनिक २८५ रुपैयाँमात्रै पाउँदै आएको मजदुर नेता भुपाल सापकोटाले बताए । पारिश्रमीक पुनरावलोकनका लागि मजदुर, प्रशासन र चिया उत्पादकबीच २०७५ साउनबाट नै प्रतिदिन १०७ रुपैयाँ पारिश्रमीक बृद्धि भएपनि अहिलेसम्म उक्त पारिश्रमीक नपाएको मजदुर नेता सिता सापकोटाको गुनासो छ ।

मजदुरलाई राज्यले हेर्ने दृष्टिकोण नै गलत रहेको र चिया मजदुरका लागि ल्याइएको नीति नै गलत भएकाले अरु क्षेत्रमा काम गर्ने मजदुरभन्दा चिया क्षेत्रका मजदुरको अवस्था दयनीय रहेको मजदुर नेता दिपक तामाङ बताउँछन् । माग राखेपछि २१ दिनभित्रमा पुरा गर्नुपर्ने प्रावधान बमोजिम सो अवधिमा माग पूरा नभए आन्दोलनमा जान बाध्य हुने पनि तामाङले बताए ।

चिया मजदुरको समस्या सम्बोधनका लागि पटक–पटक छलफल, बहस र सहमति भएपनि सहमति कार्यान्वयनमा चिया उत्पादकहरुले उदासिनता देखाएकै कारण समस्या आएको मजदुर नेताहरुको गुनासो छ ।