लोकतन्त्रवादीहरु एक हुन काग्रेस पूर्व महामन्त्री सिटौलाको अपिल

बिर्तामोड । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देश बचाउन छरिएर रहेका सबै लोकतन्त्रवादीलाई नेपाली काँग्रेसमा समाहित हुन अपिल गरेका छन् ।

नेपाली काँग्रेस झापाद्वारा आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व गृह तथा उप प्रधानमन्त्री समेत रहेका सिटौलाले कम्युनिष्टले चुनाव जितेर सत्तामा गएपछि देशमा भ्रष्टाचार बढेको र जनता झन् पीडित बनेको दावी गरे ।

कम्युनिष्ट पार्टीका नेताको सुख, समृद्धि नै देश र जनताको समृद्धि ठान्ने कम्युनिष्टहरुको भ्रम जालबाट जनता र राष्ट्रलाई मुक्त गराउन सबै प्रजातन्त्रवादीहरु एक ठाउँमा उभिनुको बिकल्प नरहेको पनि नेता सिटौलाले दोहो-याए ।

देशमा जनता हिजोभन्दा आज झन् पीडित बन्दै गएको, किसानले धानमा हाल्ने रासायनिक मल नपाएको, बैदेशिक रोजगारीमा गएका श्रमिकहरु स्वदेश फिर्न चाहँदा सरकारबाटै ठगिनु परेको बताउँदै सिटौलाले भने,‘गरीब किसानलाई धानमा हल्ने मल छैन, चुलो बाल्ने चामल छैन तर सरकारमा रहेकाहरु देश लुट्न व्यस्त छन् ।’

त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले तीस वर्षअघि आफू पनि राप्रपामा रहेको बताउँदै नेपाली काँग्रेसमा लागेर सांसद्, मन्त्री र केन्द्रीय सदस्य भएको उदाहरण प्रस्तुत गरे । पार्टीमा निष्ठा र अनुशासनमा रहे नेपाली काँग्रेसमा नयाँ र पुरानो भनेर कुनै बिभेद नहुने उनले बताए ।

नेता बुढाथोकीले अहिले देश कम्युनिष्ट र लोकतन्त्रवादी दुई ध्रुवमा तीब्र ध्रुविकरण भइरहेको बताउँदै सबै लोकतन्त्रवादीहरुलाई नेपाली काँग्रेसको बिशाल रुखको छहारीमा गोलवद्ध हुन आग्रह गरे ।

अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सरिता प्रसाईले कम्युनिष्टहरुले प्रजातन्त्रको कुरा गरेपनि उनीहरु नक्कली प्रजातन्त्रवादी रहेको भनाई राखिन् । नव प्रवेशी कार्यकर्ताहरुलाई शुभकामना दिदँै केही दिनअघि काँग्रेस प्रवेश गरेका नेता दिलिप राईले कम्युनिष्टहरुको अधिनायकवादी सोच र गतिविधिबाट लोकतन्त्र जोगाउन आफूहरु नेपाली काँग्रेसमा प्रवेश गरेको बताए ।

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनको केन्द्रीय महामन्त्री पद त्यागेर काँग्रेस प्रवेश गरेका बिद्यार्थी नेता रविन्द्र ढुङ्गानाले प्रजातन्त्रवादी युवा बिद्यार्थीहरुको भविष्य थ्रेसहोल्ड नकटाउने राप्रपामा बसेर सुरक्षित हुन नसक्ने भनाई राखे ।

नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाले काँग्रेसको सदस्य भएपछि पार्टीभित्र सबैको समान हक, अधिकार रहने भनाई राख्दै काँग्रेसमा नयाँ र पुरानो भन्दा क्षमता, योग्यता र क्रियाशीलताका आधारमा जिम्मेवारीको अवसर बाँडफाड हुने बताए ।

नेपाली काँग्रेस झापाका सभापति थापाको सभापतित्वमा भएको सो कार्यक्रममा उपसभापति राम कट्टेलले स्वागत मन्तव्य राख्दै भर्खरै पार्टी प्रवेश गरेका सह महामन्त्री सुनिलबहादुर थापाको शुभकामना सन्देश वाचन गरेका थिए ।

राप्रपा संयुक्तको सिङ्गो जिल्ला समिति, बिद्यार्थी संगठनका केन्द्रीय नेतादेखि क्षेत्रीय स्तरका दुई सयबढी कार्यकर्ता प्रवेश गरेको सो कार्यक्रममा राप्रपा झापाको अध्यक्ष परित्याग गरी कांग्रेस प्रवेश गरेका ओम मिश्रले नेपाली काँग्रेसबाहेक अर्को बैकल्पिक प्रजातान्त्रिक शक्ति नेपालमा स्थापित हुनसक्ने अवस्था नदेखिएकाले लोकतन्त्र जोगाउन आफूहरु काँग्रेसमा प्रवेश गरेको बताए ।

माक्स, सेनेटाइजरको प्रयोग र स्वास्थ्यकर्मीहरुद्वारा थर्मल गनले ज्वरो मापन गरेर मात्र कार्यक्रमस्थलमा प्रवेशको व्यवस्था मिलाइएको सो कार्यक्रमको सञ्चालन पार्टी सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।