झापामा अबैध नदी उत्खनन् गर्नेले ६ लाख १० हजार तिरे

भद्रपुर । झापामा अबैध रूपमा नदी तथा खोला उत्खनन् गर्ने गिरोह सकृय रहेको पाइएको छ ।

असार १ गतेदेखि भदौ ३१ गतेसम्म नदी जन्य सामग्री उत्खनन् गैर कानुनी काम भए राजनीतिक पहुँच तथा प्रशासनिक सम्बन्ध बनाएर माफियाहरूले खोला दोहन जारी राख्ने गरेको पाइने गरेको छ ।

खोला बन्द भएको समयमा चर्को मूल्य असुल्न पाइने भएपछि नदी जन्य सामग्री उत्खनन् गरेर बेच्ने व्यवसायीले अबैध उत्खनन् जारी राखेका हुन् ।

नदी आसपासका बासिन्दाले अबैध खोला उत्खनन् बिरूद्ध बिरोध जनाए पनि स्थानीय प्रहरी प्रशासनले कारवाही नगर्ने गरेको आरोप लाग्ने गरेको छ ।

यसै बीच नदीजन्य सामग्री उत्खनन बन्द गरिएको समयमा पनि खोलाबाट अवैध रूपमा निर्माण सामग्री उत्खनन गर्ने ८० सवारी साधनलाई झापा प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।

झापा प्रहरीले साउन महिनामा मात्र ८० वटा ढुवानीमा संलग्न सवारी साधन नियन्त्रणमा लिई कारबाही गरेको जनाएको हो ।

झापाका कनकाई, विरिङ, मेची, हँडिया, टाङटिङल, देउनिया गायतका नदीबाट सामग्री उठाउने क्रममा ७३ वटा ट्याक्टर, ४ वटा ट्रिप्पर, एउटा ट्रक र अन्य दुई सवारी नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तहमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

अबैध उत्खनन् र ढुवानीमा संलग्न ती सवारी साधनलाई कारबाही गर्दा ६ लाख १० हजार राजस्व समेत सङ्कलन भएको बताइएको छ ।