संकटमा नागरिकको सुरक्षा गर्न नसक्ने नेतृत्व आवश्यक छैन

देश कोभिड १९ को संक्रमणबाट त्रसित छ । यहाँका नागरिक कसरी कोरोना संक्रमणबाट बच्ने भन्ने चिन्तामा पिरोलिएका छन् । लाखौं व्यक्ति रोजगारी गुमाएर भोकमरीसित लडिरहेका छन् । राज्य छ तर नागरिकमा सुरक्षाको अनुभूति छैन । राजनीति छ तर राज्य सञ्चालन गर्ने उचित नीतिको पालना छैन ।

वि.सं. २००७ सालको परिवर्तनदेखि नेपालको राजनीतिमा काँग्रेस र कम्युनिस्ट नै नागरिकको भरोसा ठानिएका दल हुन् तर यी दुवै दलले संकटका बेला नागरिको आशा र भरोसामाथि न्याय दिन सकिरहेको अवस्था छैन । अहिलेको नेपाली राजनीतिमा कांग्रेस र कम्युनिस्ट जे भए पनि सबै दलाल पुँजीवादकै पुर्जा हुन् भन्ने सबैले बुझिसकेका छन् ।

तर, यदि यी पार्टीलाई पुनर्जीवित गर्ने हो भने पहिले त कांग्रेस र कम्युनिस्ट के कुरामा कसरी फरक हुन्छन् वा हुनुपर्छ भनेर थाल्नु पर्ने होइन ? अठार वर्ष पुगेको कुनै शिक्षित युवाले, अहिलेको विश्वमा कम्युनिस्ट हुनु भनेको के हो वा लोकतान्त्रिक हुनु भनेको के हो भनेर पहिले बुझ्यो भने नै त्यसपछि आफू कुन पार्टीको समर्थक हुने भनेर सोच्थ्यो होला ।

अनि बल्ल, कुन पार्टीको शिक्षानीति कस्तो हुने रहेछ, कसको अर्थनीति कता ढल्केको होला भन्ने आधारमा समाजमा सकारात्मक ध्रुवीकरण हुन्थ्यो । तर अहिलेको नेतृत्वको बौद्धिक अकर्मन्यताका कारण ऊ आफैं कम्युनिस्ट र कांग्रेसमा फरक छुट्याउन नसक्ने मनोदशामा पुगेको छ ।

प्रत्येक आदर्श, त्याग र राजनीतिक आस्थाको स्रोत बौद्धिकता हो । मान्छे कम्युनिस्ट हुने कि कांग्रेस भन्ने विषय बौद्धिक निर्णय हो । सबै मान्छे असल र नैतिकतावान् हुँदैनन् । मान्छे असल किन हुनुपर्छ भन्ने विषय बौद्धिकताबाट आउने हो । नैतिकतावान् हुनुपर्छ भनेर त सबैले सधैं भन्छन् । तर मान्छे किन नैतिक हुँदैन भन्ने विषय बौद्धिक सामथ्र्य हो ।

जब नेतृत्वले त्यो बौद्धिक ऊर्जा र व्याख्या दिन सक्दैन, तब कार्यकर्ताले भ्रष्ट किन नहुने भन्ने सोच्न थाल्छन् । किन भ्रष्ट नहुनु भ्रष्ट हुनुभन्दा बढी शक्तिशाली हुनु हो भन्ने विषय सुन्दा साधारण लाग्ला, तर पार्टीमा यस्ता विषयमा कुनै बौद्धिक चर्चा हुन्छ ? हुँदैन ।

त्यसो भएपछि, जसरी नेकपाका एउटा अध्यक्ष र प्रधानमन्त्री ‘यति’ नामक व्यापारिक समूहको अभिभावक छन् र उसका अर्का अध्यक्षले बदनाम ठेकेदारको घरमा डेरा जमाएर समाजको विवेकलाई ठाडै चुनौती दिएका छन् । प्रमुख प्रतिपक्षी दल ती विकृति बिरूद्ध सदन र सडकमा उर्लनु पर्ने थियो तर निम्छरो भएर केही पाइन्छ कि ?

शैलीमा रमिते बनिरहेको अवस्था छ । अहिलेको कम्युनिस्ट सरकार कै स्वरूपमा प्रमुख प्रतिपक्षी काँग्रेस रहन्छ भने त्यो विकृति भन्दा फरक हुने अपेक्षा नागरिकले कसरी गर्ने ? नेपालजस्तो देशका लागि नेतृत्वको जीवनशैली, त्याग र समर्पणले विशेष अर्थ राख्छ ।

यदि अख्तियार, न्यायालयजस्ता संस्था पूरै विवादरहित र सक्षम हुन्थे भने अर्कै कुरा । त्यस्तो छैन । तसर्थ नेतृत्वको जीवनशैलीमा सादगी र त्याग भेटियो भने त्यसले नैतिक शक्ति दिन्छ । अहिलेका धेरै नेता शक्तिमा छन् तर तिनीहरूको राजनीतिक वैधता नभएको विषय यता जोडिन्छ ।

कम्तीमा राजनीतिमा लाग्नु भनेको सबैभन्दा सजिलोसँग सबैले भन्दा धेरै कमाउनु हो भन्ने कुरा कांग्रेस–कम्युनिस्ट मिलेर विगत तीन दशकमा स्थापित गरेकै छन् । कांग्रेसले राजनीतिको यो विकृत रूपलाई चिर्न सम्भव छ भने त्यो पनि बौद्धिक हस्तक्षेपबाट मात्र जसका लागि अघिल्लो पुस्ताले स—सम्मान विदा लिएर पूर्ण रूपमा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न सक्नु पर्दछ । कम्युनिस्ट सर्वहाराका साथी हुन् भन्ने मान्यता ३ वर्षे सत्तारोशणको बलियो यात्राले सधैँका लागि अन्त्य गरिदिएको छ ।

नागरिक संकटमा परेका बेला सत्ताको लुछाचुडी र पदीय बाँडफाडमा हराउने नेकपा नेतृत्वले रोग र भोकले प्रताडित नागरिकलाई नङ्ग्याएर आसेपासे पोस्न व्यस्त भए । अहिलेको नेतृत्व पुस्ताबाट कम्युनिस्ट नागरिक मैत्री शासन हुँन सक्दैन भन्ने निश्चित गरेकाले नयाँ पुस्ताको उदय नभएसम्म नेपालका कम्युनिस्टको नेतृतवमा राज्य जानु हुँदैन भन्ने जनमानसमा परिसकेको छ ।

विगतको काँग्रेस र वर्तमानको कम्युनिस्ट नेतृत्व नागरिकको विश्वासमाथि कुठाराघात गर्ने शासकीय शक्ति बन्न पुगे । यसैले परिवर्तनको बाहक भएको हल्ला मच्चाएर शासन सत्तामा हलीमुहाली गर्ने दिन गए । संकटमा परेका देशबासीको सुरक्षा गर्न नसक्ने शासक वा राजनीतिक दल अव आवश्यक छैन ।