प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्‍न खाडी मुलुकका श्रमिक ‘वर्ग शत्रु’ हुन् ?

काठमाडौं । संकटको बेलामा सरकारले खाडीमा रहेका नेपालीहरुलाई महँगो टिकटसँगै खर्च बोकाएर पीडा थपेको आरोप प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगाएको छ । कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले शनिबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्‍न गरेका छन् । “खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?” शर्माले सोधेका छन् । शर्माले विज्ञप्तीमा सर्र्वोच्च अदालतको आदेश उल्लंघन गर्दै महँगो टिकटसँगै सबै खर्च बोकाउनु मानवीयता कि सर्वहारामाथि अधिनायकवाद ? भन्दै प्रधानमन्त्रीलाई सोधेका छन् । गत असार १ गते सोमबार सम्मानित सर्र्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो,’ विज्ञप्तीमा भनिएको छ, ‘न्यायाधीशहरू आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता देखाएन । आदेशको दुई महिनापछि पुनः महँगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्‍न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको छ ।’ कांग्रेसले सरकारलाई अन्य चारवटा प्रश्‍न पनि गरेको छ ।

पहिलोमा भनिएको छ, ‘प्रवासी नेपाली जो जुन देशमा हुन् अप्ठ्यारोमा परेकालाई स्‍नेह र सहाराको हात दिनु राज्यको दायित्व थियो र हो । राज्यको यो दायित्वबारे नेपाली कांग्रेसले लिखित र मौखिक रूपमा निरन्तर प्रधानमन्त्रीदेखि मन्त्री हुँदै सम्बन्धित निकाय समक्ष राख्दै आएको छ । आज पुनः सार्वजनिक रुपले त्यही माग र आग्रह दोहोर्‍याउँदै प्रश्‍न गर्न चाहन्छौँ, “६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्‍नु कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्र्वाेच्चको असार १ को निःशुल्क उद्वार गर भन्‍ने आदेशको उल्लंघन र अदालतको मानहानि हो कि होइन प्रधानमन्त्रीज्यू ?”

कांग्रेसले दोस्रो प्रश्‍नमा विदेशमा रहेका नागरिकको उद्धार कछुवा गतिमा गर्दै पीडामाथि पीडा थपेको दाबी गरेको छ । ‘मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाइटको अनुमति दिएको छ । भदौ १६ बाट शुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्ध गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौंसम्म लाग्ने देखिन्छ । उद्धारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन’, कांग्रेसले भनेको छ ।

त्यस्तै तेस्रो प्रश्नमा सरकारले जनताको उद्धार गर्दा पनि व्यापार गरिरहेको भनेको छ । ‘सरकारको पछिल्लो निर्णय अनुसार सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्वार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्वारमा व्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ,’ कांग्रेसले भनेको छ, ‘एक त चार्टर फ्लाइटको महँगो टिकट काट्नु पर्ने, दोस्रो होटेल क्वारेन्टाइनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, तेस्रो पिसिआर परिक्षण आफैँ गराउनुपर्ने अनि चौथो गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने ।

अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भर थेग गरिरहेका अन्न दातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को ब्यबहार ?’ कांग्रेसले अन्तिममा रोजगारी गुमाएका, बेतलबी विदा पाएका र बेखर्र्ची बनिसकेका श्रमिकलाई कल्याणकारी कोषमार्फत हवाइ टिकट व्यवस्था गरेर निशुल्क उद्धार गर्न पनि भनेको छ । ‘रोजगारी गुमाएका, बेतलबी विदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट ब्यवस्था गरेर निःशुल्क उद्वार गर्न नेपाली कांग्रेस सरकार समक्ष पुरानो माग दोहोर्‍याउन चाहन्छ’ कांग्रेसले भनेको छ । त्यस्तै सर्र्वोच्चको आदेश पालना गर्न पनि सरकारलाई सचेत गराउँदै कांग्रेसले सरकारी खर्चमै क्वारेन्टाइन, पीसिआर परिक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ । ‘उच्च मानवीय भावना साथ ‘संकटमा उद्वार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न नेपाली कांग्रेस सार्वजनिक रुपले नेपाल सरकारलाई अपील गर्दछ’ शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।