दमकमा थप एक साता लकडाउन गर्ने निर्णय

भद्रपुमा जिल्लाबाहिरका मानिसको प्रवेशलाई निरुत्साहित गर्ने निर्णय

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले जिल्लाका अरु स्थानीय तहमा समुदायमै कारोना भाइरस संक्रमण देखिएपछि जिल्लाबाहिरका मानिसको प्रवेशलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । सर्वपक्षीय प्रतिनिधित्व रहेको नगरको कोभिड १९ जोखिम व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले जिल्ला बाहिरबाट प्रवेश गर्नैपर्ने अवस्थाका मानिसले टोल विकास संस्था, वडा समिति वा स्वास्थ्य शाखामार्फत नगरपालिकासँगको समन्वयमा भद्रपुर नगरपालिकाभित्र प्रवेश गर्न पाउने र प्रवेश गरेपछि पनि कम्तीमा ७ दिन होम क्वारेन्टिनमा बसी कोभिड १९ सम्बन्धी नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय गरेको छ । यो निर्णय आइतबारदेखि सात दिनका लागि गरिएको समितिका अध्यक्ष नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी, कोभिड १९ सम्बन्धी क्रियाकलाप र अत्यावश्यकबाहेकका नगरपालिका र वडा कार्यालयहरुबाट प्रवाह भइरेका सेवाहरु पनि बन्द गरिएको, साप्ताहिक हाट बन्दलाई निरन्तरता दिइएको, भद्रपुरमा रहेका संघीय तथा प्रदेशस्तरीय कार्यालयहरुमा देखिएको भीड नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने, उद्योग प्रतिष्ठानहहरु कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न उद्योग प्रतिष्ठानहरुलाई सचेत गराइएको लगायतका ९ बुँदे निर्णय गरिएको पनि श्रेष्ठले जानकारी दिए ।

यता, दमक नगरमा स्थानीय सरकारले गरेको बन्दाबन्दी बिषयमा छलफल गर्न बसेको सर्वपक्षिय बैठकमा, केही खुकुलो बनाउदै भाद्र १५ गते सम्म लम्ब्याउने नगर प्रमुख रोमनाथ ओलीले प्रस्ताव गरेका छ्न । अहिलेसम्म संक्रमण बढी देखिएका मालपोत , टेलिकम , विद्युत लगायतका कार्यालयको सेवा पुर्ण रुपमानै भाद्र १५ सम्म बन्द गर्ने प्रस्ताव उनले राखेका थिए ।

दमक प्रमुख रोमनाथ ओलीको प्रस्तावमाथि छलफल गर्दै, दमकमा आजदेखी थप एक साता लकडाउन गर्ने निर्णय गरेकाछन् । नगरपालिकामा आज बसेको सर्वपक्षीय छलफलमा अधिकाङ्श सहभागीहरुले थप एक साता लक डाउन लम्ब्याउन सुझाव दिएपछि नगरपालिकाले सो निर्णय गरेको हो । दमकमा पछिल्लो समय कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिएपछि साता अघि लकडाउन घोषणा गरिएकोमा आज थप एक साता लक डाउन लम्ब्याएर पीसीआर परिक्षण बढाउने नगरपालिकाको तयारी छ ।