झापाका स्थानीय तह लकडाउन लमब्याउँदै

भद्रपुर । समुदायमा कोरोना फैलिएका कारण झापाका स्थानीय तहहरुले लकडाउन थप र लम्ब्याउन थालेकाछन । यसैक्रममा कनकाई नगरपालिकाले लकडाउनलाई थप गरेको छ । नगरले भदौं ५ गतेसम्मलाई गरेको आंशिक लक डाउन थप गरी अनिश्चितकालिन बन्दको निर्णय गरेको छ । शुक्रबार नगरको बोर्ड बैठकले कोरोना संक्रमण फैलिरहेकोले थप सतर्कताका लागि अर्र्को सूचना नभएसम्म लकडाउनलाई थप गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार साप्ताहिक हाट बजार अनिश्चितकालिन बन्द गरिएको छ । अन्य व्यवसायिक क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु विहान १० देखि ३ बजेसम्मका लागि खुल्ला गर्ने निर्णय भएको न्यौपानेले जानकारी दिए । निश्चित समयका लागि खुल्ला गरिएका क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्न नगरपालिकाले आग्रह गरेको छ । कनकाई नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिले नगरका कुनै पनि क्षेत्रमा भीडभाड नगर्न नागरिकहरुमा अपील गरेको छ ।

यसैगरी समुदायका एक ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि झापाको गौरीगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । गौरीगञ्ज ६ का ३० वर्षिय पुरुषमा बिहीबार समुदायका ब्यक्तिमा संक्रमण देखिएपछि ती संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि आज रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि वडा नं ३ , ४ , ५ र ६ मा निषेधाज्ञा लगाइएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । निषेधाज्ञामा अत्याबश्यक औषधि पसल , दूध डेरी विहान ७ देखि ९ बजेसम्म खुला राख्न दिने र त्यसबाहेक सबै कारोबार , कार्यालय र आवतजावत बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा जनाइएको छ । संक्रमण थप फैलिन नदिन गाँउपालिकाले ५ वटै वडामा निषेधाज्ञा जारी गरिएको गाँउपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी दिए ।

संक्रमित ब्यक्तिको गौरीगञ्ज बजारमा रुवि डिपार्टमेन्ट स्टोर रहेको छ । त्यस क्षेत्रकै सो ठूलो डिपार्टमेन्ट स्टोरमा १० भन्दा बढी कामदार कार्यरत छन् । संक्रमित ब्यक्तिसँग ३०० जना जतिको सम्पर्क भएको हुनसक्ने आशंका गरिएको छ । गाउँपालिकाले सूचना जारी गरी सात दिनयता त्यस डिपार्टमेन्ट स्टोरमा आएका सम्पूर्ण सेवाग्राहीहरुलाई सम्पर्क गरी कन्ट्याक्ट ट्रेसिङमा सहभागी हुन सूचित गरेको छ । मुख्य बजारकै डिपार्टमेन्ट स्टोर भएको र त्यसको छेउमा वाणिज्य संघ रहेकाले धेरै जनाको सम्पर्क ती संक्रमित व्यापारीसँग भएको हुनसक्ने जनाइएको छ ।

यस्तै, बुद्धशान्ति गाउँपालिकाले पनि भदौ ९ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । साउन २९ गतेदेखि बिहीबार राति १२ बजेसम्म लकडाउन गरिएकोमा पुनः दोस्रो चरणमा लकडाउनको समयावधि थप गरिएको छ । बिहीवार बसेको गाउँ कार्यपालिकाको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए । साउन २७ गते बुद्धशान्तिमा ८१ जनाको पिसिआर टेष्टका लागि स्वाव संकलन गरी पठाइएकोमा ८० जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।त्यसमध्ये जीवन विकास लघु वित्त संस्थामा काम गर्ने कर्मचारीको रिपोर्ट पोजेटिभ आएको थियो ।