दमकमा बल्ल आईसोलेसन कक्ष निर्माण शुरु

दमक । झापाको दमकमा कोरोना संक्रमण देखिएको लगभग चार महिनापछि बल्ल आईसोलेसन निर्माण शुरु गरिएको छ । नगरपालिकाले दमक २ स्थित हङ्सेदुम्से बन क्षेत्रमा यस अघि रहेको शरणार्र्थी समन्वय इकाइ लगायत शरणार्थी गतिविधि सग सम्बन्धित १४ कोठे पक्की भवनमा हिजोदेखी आईसोलेसन कक्ष निर्माण शुरु गरेको हो । दमकमा कोरोना सङ्क्रमितहरु देखिन थालेको धेरै समय भएपनि स्थानीय सरकारलाई आफै आइसोलेसन कक्षको ब्यवस्थापन गर्ने अधिकार केन्द्र सरकारले नदिएका कारण ढिलाइ भएको बताइएको छ । हालै मात्र केन्द्रीय सरकारले दमक नगरपालिकालाइ आइसोलेसन कक्ष निर्माण गर्ने अधिकार प्रदान गरेको कारण सन्क्रमितहरुको उपचारका लागि स्थानीयस्तरमा ब्यवस्थापन गर्न थालिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार त्यहाँ ३० बेडको आईसोलेसन अर्थात कोरोना संक्रमण भएकालाई उपचारका लागि ब्यवस्थापन गरिनेछ । नजिकै यश अघिको सशस्त्र प्रहरी बेस क्याम्प बेलडाँगी १ रहेको स्थानमा भने स्वास्थ्य कर्मचारी तथा आवश्यक सुरक्षाकर्मी रहने ब्यवस्था मिलाउन लागिएको छ । ती ठाउँमा खानेपानी , बिजुली , शौचालय , स्नानगृह लगायतको ब्यवस्थापन गर्ने काम भैरहेको छ दमकमा आईसोलेसन कक्षको अभावमा कतिपय संक्रमण पुष्टि भैसकेकालाई पनि घरमै बसेर चिकित्सकले आवस्यक स्वास्थ्य परामर्श सेवा दिदै आएका स्वास्थ्य शाखाका कुबेर भट्टराईले बताए । उनका अनुसार दमकमा होम आईसोलेसन र क्वारेन्टाइनस्थलमा बनाइएका आईसोलेसनमा कुल २२ जना छ्न । उनीहरु उपचारका लागि कोभिड विशेष अस्पतालको अभावको सिकार भएका हुन ।