पितृदेवो भवः किन पूजिन्छन् पिता ?
मोदनाथ खनाल
सनातन हिन्दु सभ्यताका अनेकौं पर्वहरु छन् । तिनै पर्वहरुमध्ये बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औंशी पनि प्रमुख हो । कुशे औंशीको दिन घर घरमा कुश राख्ने गरिन्छ । यो कार्यका साथ आफ्नो जन्मदाता एवं पालनकर्ता पिताको मुख हेर्ने अथवा आफ्नु श्रध्येय व्यक्तित्वको पूजा गर्ने दिन पनि हो ।
पिता दिवस का रुपमा मनाईने यो दिन एउटा साधारण पर्व मात्रै हैन,सृष्टिकर्ता एवं पालनकर्ता प्रतिको असीम श्रध्दा एवं कृतज्ञता पनि हो । पिता,माता र गुरुलाई सनातन हिन्दु परम्परामा भगवान मानिएको छ । यसलाई पुष्टी गर्दै भगवान श्रीकृष्णले म नै पिता,माता धाता एवं पितामह हुँ, म ज्ञान,शोधक ॐकार (शव्दांश) हुँ । म नै ऋक,साम तथा यजुर वेद हुँ, भन्नु भएको छ ।
पिताहमस्य जगतो माता धाता पितामहः
वेद्यं पवित्रमोंकार ऋक्साम यजुरेव च । (गीता–९र१७)
यो जगत्का पिता भगवान श्रीकृष्णले नै पिता को हो र पिताको भूमिका के हुन्छ भन्ने कुरा स्पष्ट पार्नुभएको छ । पिता साधारण एक व्यक्ति मात्रै हैन एउटा संस्था हो । जगतपिताका रुपमा भगवान श्रीकृष्ण अनन्त शाश्वत धाता हुन् । तिनै जगतपिताको खण्डांशका रुपमा लौकिक जगतका स्थुल शरीरधारी पिताहरु छन् । ती सबै पिताहरु उनै जगत्पिताका प्रतिनिधि हुन् । उनीहरु स्थुलरुपमा अस्थायी छन् तर परमात्माका रुपमा अविनाशी एवं अचिन्त्य छन् ।
पिता दिवस केवल सनातन हिन्दु–बौध्द सभ्यतामा मात्रै प्रचलित छैन,यूरोपमा पनि १९ मार्चको दिनलाई सन्त जोसेफको भोज दिवसका रुपमा मानिने प्रचलन छ । जसलाई धर्ता,भर्ताका रुपमा क्याथोलिक धर्ममा भगवान एवं पितामह मानिन्छ । तर यही कुरा धेरै पहिला नै भगवान श्रीकृष्णको गीतामा उपरोक्त श्लोक मार्फत् उपदिष्ट भइसकिएको छ । यूरोपमा सन् १५०८ बाट ‘फादर्स डे भनेर प्रथागत रुपमा सुरु भएको पाईन्छ । यद्यपि यूरोपमै पनि पिता दिवसको मिति एउटै छैन । अमेरिकाको वाशिङटन राज्यमा सन् १९१० जुन १६ मा पहिलो पटक ‘फादर्स डे मनाईयो तर त्यसपछि त्यो प्रचलन निरन्तर अघि बढेन । धेरैपछि मात्र औपचारिक रुपमा सुरु भएको पाईन्छ ।
भविष्यवेत्ताका रुपमा सुविख्यात महाभारतका श्रध्येय पात्र भीष्मको बिचारले पनि बुवाको महत्व कति छ भन्ने दर्शाउँछ । पितामह भीष्मका अनुसार, ‘पिता, माता एवं गुरुको पूजा एवं श्रध्दा सबैभन्दा महत्वपूर्ण छ । जसले पिता,माता र गुरुलाई श्रध्दापूर्वक पूज्छन् उनलाई असीम प्रशिध्दि प्राप्त हुन्छ, धर्मरुपी ईश्वर उनका ह्रदयमा वास गर्छन् । जसले गर्दा आफ्नो परिवारभित्र असीम माया एवं सद्भाव प्राप्त हुन्छ ।
यसको अर्थ हो सनातन हिन्दु सभ्यताको आदिकालदेखि नै पिता,माता र गुरुप्रति असीम श्रध्दा थियो । भीष्म पितामह जस्ता सिध्द महात्माको भनाई आफैंमा एउटा प्रमाणित सत्य हो । तैत्तिरीयोपनिषद्मा पनि यही कुरालाई जोड दिईएको छ । मातृदेवो भव,पितृदेवो भव,आचार्यदेवो भव,अतिथिदेवो भव । यन्यनवद्यानि कर्माणि,तानि सेवितव्यानि । माता,पिता,गुरु र अतिथि पूजनीय हुन्छन् ,किनभने यिनीहरु अनवद्य (निर्दोष) हुन्छन् । अनवद्य कर्मको मात्रै आचरण गर्नुपर्छ ।
हरेक वर्षको भाद्र औंशी (दर्श औंशी,कुशे औंशी) को दिनलाई आफ्ना जन्मदाता पितालाई सम्झने एवं श्रध्दा प्रकट गर्ने दिवसका रुपमा मनाउँदै आएको प्रचलन छ । यसको अर्थ बुवाप्रतिको श्रध्दा वर्षमा केवल एकदिन मात्रै हैन कि भगवान सरह मानेर वर्षमा एकदिन विशेष पूजा गर्ने संस्कृतिका रुपमा भाद्रकृष्ण औंशीको दिन चल्दै आएको हो ।
किन पुजिन्छ पिता ?
आफ्ना सन्तानका लागि पिता त्याग,समर्पण एवं चेतनाका संवाहक हुन् । अभय,आत्मविश्वास एवं कर्मठ योग्यता दिने उर्जाका स्रोत नै पिता हुन् । परिवारलाई बाहिरी आक्रमण,षड्यन्त्र जस्ता असुरक्षापूर्ण गतिविधिबाट सुरक्षित राख्ने काम पिताको हुन्छ । पितासँग रहँदा सन्तानले भरोसाको अनुभूति गर्छन् । अंग्रेजीमा ‘फादर फिगर भनेको आत्मसम्मान,भरोसा,उर्जा,चेतना एवं प्रेरणाको प्रतिमूर्ति मानिन्छ । सन्तानका लागि पिता संसारकै सबैभन्दा शक्तिशाली सुरक्षा कवच हुन् । पिताको स्वरुप नरिवलको जस्तै हुन्छ । बाहिरी आवरण कडा हुन्छ तर भित्र तरल भाव हुन्छ । आफ्नो सन्तानको सुखद् भविष्यका लागि बाहिरी आवरण निकै कडा हुन्छ तर त्यो कडा आवरणभित्र लालित्यपूर्ण विम्ब हुन्छ । नवनीत जस्तै नरम ।
तर आजभोलि हाम्रा विगतका आदर्श सभ्यता यथावत छैनन् । पिता को पूजनीय स्वरुपमा पनि विकृति आएको छ । सन्तान पनि पिता प्रति श्रध्दान्वित छैनन् । हुनत यो सबैमा लागू हुँदैन । कति पिता र सन्तान विगतमाभन्दा पनि त्यागी,उत्तरदायी एवं नैष्ठिक पनि छन् ।तर आफ्नै छोरीमाथि बलात्कार गरेको समाचारहरु पनि पढ्नुपर्ने वाध्यता आएको छ । आफ्नै सन्तानले आफ्ना बाबु आमाको हत्या गरेको खबरहरु सुन्नु परिरहेको छ । हाम्रो त्यति महान् एवं युगान्तकारी सभ्यताको पोषण पाउँदा पाउँदै पनि आज हामी नैतिक रुपमा किन यति धेरै स्खलित हुँदै गईरहेका छौं ?
परपुरुषलाई पिता,दाजुभाई परस्त्रीलाई माता,दिदी–बहिनी सरह मान्ने हाम्रो परम्परा आज आफ्नै छोरी बलात्कार गर्नेसम्म अवस्थामा पुगेको छ । यसको मुख्य कारण हाम्रो आफ्नै सभ्यताप्रति अनादर हो । हाम्रो यो अति नैष्ठिक,मर्यादित एवं सबैलाई सबैले सम्मान तथा माया गर्ने परम्परालाई हामी आफैंलाई रुढीवादी तथा अन्धविश्वासी संस्कार मान्दै लत्याउन थालेपछि हाम्रो समाज भाँडिन थालेको हो । राजनीतिक नेतृत्वमा बिकाउ एवं अनैतिक,निष्ठाहीन पाखण्डी एवं अरुको अरौटे भएर जीवन निर्वाह गर्न रुचाउने दासहरुको झुण्डले प्रवेश गरेपछि हाम्रो समाज विदीर्ण हुँदै गएको छ ।
दिनभरी श्रीमति काम गर्ने तर श्रीमान चैं दिनभरी तास खेलेर बेलुका रक्सीले मात्ने अनि आफ्नै श्रीमतिलाई चुट्ने,पिट्ने संस्कारबाट हामी हाम्रो सभ्यतालाई घिसार्दै छौं । दया,करुणा एवं सर्वकल्याणको उदात्त भावनालाई पन्छाएर पूर्णत स्वार्थी,असंवेदनशील एवं दयाहीन सभ्यताको पोषण गर्नु आज हाम्रो संस्कार बन्दै गएको छ । माता,पिता,भ्राता एवं सम्पूर्ण बन्धुबान्धव तथा समाजको हितलाई सर्वोपरी राख्ने पूर्वीय संस्कृतिको उदात्त दर्शनबाट विमुख भएर लोभ र पाखण्डको प्रतिष्पर्धामा अहिलेको समाज दौडिरहेको छ । आदि सभ्यतादेखि नै पिताले आफ्ना सन्तानलाई आफ्नो संस्कृति,सभ्यता,मानवीय सम्वेदना,दया,ज्ञान र एवं मोक्षको बाटो सिकाउँदै हाम्रो समाजलाई सबल एवं समृध्द बनाएका थिए । स्वाभिमान,नैतिकता,उत्तरदायित्व कर्तव्यप्रति आफ्ना सन्तानलाई सचेत गराउने पिता नै वास्तविक पिता हुन् । पिताकै मार्गनिर्देशबाट समाज सुगठित हुँदै अगाडि बढ्दै समृध्द हुन पुग्यो ।
तिनै महान पिता जसले आफ्नो सन्तति,समाज एवं राष्ट्र हुँदै धरतीकै एक सशक्त उर्जाशील मानव संशाधनका रुपमा स्थापित गराउन सफल भए,उहाँहरुकै सम्मानका लागि पिता दिवस अर्थात् बुवाको मुख हेर्ने दिनका रुपमा भाद्र कृष्ण औंशीलाई मनाउँदै आईएको छ । केवल वीर्यका माध्यमबाट एउटा जीव पिण्ड मात्रै दिएर होईन,समग्र संस्कार,सभ्यता,चेतना एवं एक योग्य मानव व्यक्तित्व निर्माण गर्न सकिएको खण्डमा मात्रै जगत् धर्ता एवं कर्ता पिता बन्न सकिन्छ ।