तीजमा माइती जान नपाउनुको पीडा आफूभित्रै दबाउनुपरेको छ

भद्रपुर । आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका छन् । कोरोना भाइरसका कारण नेपाल पनि ठूलो पीडामा छ । काठमाडौँ लगायत देशका अधिकांश ठाँउमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको जनाउँदै निषेधाज्ञा र लकडाउन जारी गरिएको छ । यसका कारण अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द छन् ।

धार्मिकरुपमा निकै नै महत्व बोकेको हरितालिका तीजमा यसपालि बाहिर नगई घरभित्रै उपबास बसेर मनाउने तयारीमा रहेकाछन् चेलीबेटी । विगतका वर्षमा दिदीबहिनीहरुलाई घरमै बोलाएर दर खुवाउनमा व्यस्त रहने यस वर्ष भने कुनै तयारी गरेका छैनन् । “दिदीबहिनी बिनाको तीजको के अर्थ ?” भन्छन् ।

जथाभावी चाडपर्व मनाउँदा झनै रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै निषेधाज्ञा र लकडाउन जारी गरेकोमा सकारात्मक रहेका पाइन्छन् । विगतको तीज खर्चिलो भएको र यस वर्ष खर्चको वचत भएको सोच पनि भएको पाइन्छ । “आफ्नै गल्तीले रोग लाग्न दिनुभन्दा सुरक्षित बस्नु धेरै नै उपयुक्त हो,“रोगबाट बच्न सके अर्को वर्ष पक्कै मनाउन पाइहालिन्छ नि” अधिकांश चेलबिेटीको सोच रहेको छ । बर्षेनी हर्षोल्लासकासाथ तीज मनाउँदै आएका कोरोनाले गर्दा यस वर्ष केही खल्लो महसुस भएको बताउँछन् चेलीबेटी । विगतका वर्षमा दर खाने दिन किनमेल र पकाउनमा व्यस्त रहने उनीहरु माइती जान नपाउनुको पीडा आफूभित्रै दबाउनुपरेको बताउँछन् ।