आफ्नै मृत्युको खबर सुन्दा ‘म भाग्यमानी रहेछु’ भन्नुभएको थियो

श्री ओम श्रेष्ठ रोदन

राष्ट्रकवि माधव घिमिरेको गत मङ्गलबार साँझ ५ः५५ बजे १०१ वर्षको उमेरमा आफ्नै निवास लैनचौरमा निधन भयो । १९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा गौरीशंकर घिमिरे र द्रौपदीदेवी घिमिरेका सुपुत्रका रूपमा जन्मिएका घिमिरेले प्रथम गुरु बद्री सुवेदीबाट शिक्षा आरम्भ गरेका थिए । उनले औपचारिक शिक्षा दुराडाँडाको संस्कृत पाठशालाबाट सुरु गरेका थिए । त्यसपछि काठमाडौँस्थित रानीपोखरी संस्कृत पाठशालाबाट प्रथमा उत्तीर्ण गरी भारतको बनारसस्थित क्विन्स कलेजबाट वि.सं. २००१ सालमा सर्वदर्शनमा शास्त्री गरेका थिए ।

ज्ञानपुष्प शीर्षकको कविता गोरखापत्रमा प्रकाशन गरी सार्वजनिक साहित्य सिर्जनामा होमिएका उनको पहिलो कविता सङ्ग्रह नवमञ्जरी हो । स्वच्छन्दतावादी भावधाराका कविता रचना गर्ने घिमिरे पटक–पटक परिष्कार गरी सिर्जनालाई माझेर मात्र सार्वजनिक गर्दथे । यसपछि उनले निरन्तर साहित्य सिर्जनामा जीवन समर्पण गरेका थिए । उनका अमर कृतिहरुमा नयाँ नेपाल –गीतिकाव्य), गौरी (शोककाव्य) राजेश्वरी, पापिनी आमा, राष्ट्रनिर्माता, धर्र्तीमाता, बोराको परदा, इन्द्रकुमारी, गौँथली र गजधम्मे (खण्डकाव्य), किन्नर किन्नरी (गीतसङ्ग्रह), चैतवैशाख (कवितासङ्ग्रह), शकुन्तला, मालती मङ्गले, विषकन्या, अश्वत्थामा, हिमालपारि हिमालवारि, देउकी, बालकुमारी (गीतिनाटक), आफ्नो बाँसुरी आफ्नै गीत, चारु चर्चा –निबन्ध र प्रबन्ध), बालसाहित्यमा घामपानी, बाललहरी, बिजुले र बिजुला (कवितासङ्ग्रह), सुनपती चरी (गीतसङ्ग्रह), मनचिन्ते मुरली (कथासङ्ग्रह) मुख्य छन् । यसका अतिरिक्त उनले उषाचरित्र (चम्पूकाव्य) नागानन्द (गीतिनाटक) र दुर्गासप्तशती –काव्य) पनि अनुवाद गरेका छन् । उनको अन्तिम सिर्जना ऋतम्भरा –महाकाव्य)लाई मानिएको छ, जो केहीअघिसम्म परिष्कार गर्दै थिए ।

एक घटना थियो, भारतबाट उपचार गरेर फर्केपछि उहाँको देहावसानको खबर सामाजिक सञ्जालमा डढेलोसरी फैलियो । उहाँका धेरै शुभचिन्तकहरुले श्रद्धाञ्जलि प्रकट गरे । त्यतिबेला सर्वप्रथम होइन भनेर सबैलाई जानकारी गराउने म थिएँ । २०७४ जेठ १४ गते शुक्रबारको दिन कसैले एउटा फेसबुकमा राष्ट्रकविको दुखद् निधन भनेर स्टाटस हाल्यो । त्यसपछि मलाई एउटा दैनिक अनलाइनले फोन गरेर सोध्यो । कन्फर्म गरिदिनुपर्यो भनेपछि मैले तुरुन्तै फोन गरेँ । उहाँ हस्पिटल गएर आउनु भएको रहेछ । त्यतिन्जेलसम्ममा अधिकांश स्रस्टाहरुले माधव घिमिरेको तस्बिरसहित दुःख व्यक्त गरिसकेका थिए । मै हुँ भन्ने एकसे एक स्रष्टाले पनि राष्ट्रकविप्रति समवेदना व्यक्त गरिसक्नु भएको थियो । त्यति मात्र नभई तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले पनि शोक व्यक्त गर्नुभयो ।

त्यसपछि मैले स्टाटस लेखेँ । मेरो स्टाटस हेरेर केहीले भटाभट हटाउन थाल्नुभयो । फेरि दोहोर्याएर पनि लेखेँ, ‘ज्यूँदो हुँदै नमारौँ’ भनेर । धेरै एफएम, अनलाइनहरुले मलाई फोन गर्न थाले । देशविदेशबाट पनि र अधिकांश सञ्चारमाध्यमले मलाई नै गरे । त्यो भ्रम हो, उहाँ अहिले राष्ट्रकवि स्वस्थ हुनुहुन्छ भनेर समाचारहरु प्रकाशित भए । त्यतिखेर म मधुपर्कको सम्पादक थिएँ । मेरै कोट गरेर उहाँको देहावसानको भ्रम चिरेको थिएँ ।

त्यसको लगत्तै केही दिनपछि म उहाँकोमा पुगेको थिएँ । अनि उहाँले अहो तपाईंले मेरो मृत्युको बारे भ्रम चिरिदिनुभएछ, तर म खुसी नै छु भन्नु भयो किन भनेको म मरिसकेपछि मेरो बारेमा केकस्तो प्रतिक्रिया आउँछन् भन्ने मैले थाहा पाउने थिइनँ । अहिले ज्युँदै मलाई मारिदिएका कारणले गर्दा मरेपछिका प्रतिक्रियाहरु पनि सुन्न पाएँ । त्यसैले खुसी छु भन्नुभयो । मरिसकेपछि ममाथि कस्तो प्रतिक्रिया आउँदो रहेछ भन्ने महसुस गर्न पाएँ । त्यस हिसाबले म भाग्यमानी हो । अरू मान्छेले आफ्नो मृत्युपछिको आफ्नो प्रतिक्रिया सुन्न पाउँदैनन्, देख्न पाउँदैनन् भनेर खुसी नै प्रकट गर्नुभएको थियो