लकडाउन र सिल गरिँदा तरकारीको मूल्य आकासियो
झापा । कोरोना भाइरसको संक्रमण फैलिएसँगै स्थानीय तहमा लकडाउन र सिल गरिँदा तरकारीको मूल्य आकासिएको छ । कोरोना भाइरसको संक्रमणका कारण सवारीसाधन संचालन नहुँदा अन्य जिल्लाबाट आयात हुने तरकारी आउन नसकेकाले तरकारीको मूल्य बढेको हो । गाउँघरका किसानहरुले खेतमा धान रोपेपछि तरकारी लगाउने ठाउँ नहुँदा तरकारीको उत्पादन घटेको छ । गाउँघरमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरुले पानी नजम्ने डाँडो खेत अभावमा प्रशस्त तरकारी उत्पादन गर्न सकेका छैनन् ।
गोजिमा पैसा र हातमा झोला लिएर तरकारी किन्न बजार आएका मानिसहरु तरकारीको मूल्य सुन्नसाथ झस्किन्छन । ग्राहकले तरकारीको मूल्य सोद्धा ब्यापारीहरुले केजिमा नबताई पावामा मूल्य बताउँछन् । मेरो पसलमा आएर तरकारी किनिदिए हुन्थियो भनेर दाउ हेरेर बसेका ब्यापारीले केजिमा मूल्य बताएमा ग्राहकहरु तर्सिएर भाग्छन भनेर सानो स्केल पावामा मूल्य बताउँछन् ।
बजारमा तरकारीको मूल्य अत्याधिक महंगो भएकाले थोरै पैसा बोकेर वा पैसा कम हुने ब्याक्ती तरकारी किन्न बजार नगएपनि हुने नगरपालिका ८ कि बिमला भण्डारी बताउँछिन् । यता तरकारी व्यावसाय गर्ने ब्यापारीहरु आफुले होलसेलमा तरकारी खरिद गरेको मूल्य नै महंगो परेकाले महंगोमा बिक्री गर्नु परेको बताउँछन् । अहिले बजारमा आलु प्रति केजि ७०, स्कुस ६०, घिउ सिमि १ सय ६०, टमटर ८०, भिन्डी १००, खुर्सानी २००, डल्ले खुर्सानी ४००, बन्दा ४०, लसुन ३२०, प्याज ७०, बैगुन १०० पर्बल १२०, करेला १२०, अदुवा २०० रुपैयाँ केजि रहेको छ । काँक्रा प्रतिगोटा ५०, हरियो साग प्रति मुठा ७० देखि १०० रुपियाँ रहेको छ ।