उद्योग वाणिज्य संघ गौरीगंजद्वारा ६१ जनाको पीसीआर परीक्षण

गौरीगंज । गौरीगंज गाउँपालिका भित्रका ६१ जना व्यापारी तथा ईच्छुक सर्वसाधारणको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । उद्योग वाणिज्य संघ गौरीगंजको आयोजना र गौरीगंज गाउँपालिकाको समन्वयमा आज विहान व्यापारी र सर्वसाधारणको सशुल्कमा स्वाव संकलन गरिएको हो । संकलित उनीहरू सबैको स्वाव परिक्षणका लागि विराटनगर स्थित कोरोना परिक्षण अस्पताल कोशीमा पठाईने गौरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।उद्योग वाणिज्य संघ गौरीगंजले यसअघि ५३ जना व्यापारी र सर्वसाधारणको पीसीआर टेष्टका लागि स्वाव संकलन गर्ने कार्य गरेको थियो । उनीहरूको परिक्षणको नतिजा आज साँझसम्म आउने बताईएको छ । पीसीआर परिक्षणका लागि स्वाव संकलन गर्ने कार्यक्रमको औपचारिक शुभारम्भ गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गरेका थिए ।

कोरोना भाईरसको महामारी समुदायस्तरमा फैलिईरहेको अवस्थालाई मध्यनजर गर्दै गौरीगंजका व्यापारी वर्गलाई र ईच्छुक सर्वसाधारणलाई सर्वसुलभ दरमा परिक्षण गर्ने कार्य शुरूवात गरिएको उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतोले बताए । स्वाव संकलन कार्यमा खटिने स्वास्थ्यकर्मी, परिक्षण कार्यमा गाउँपालिकाले समन्वय गर्ने र भिटिएमको व्यवस्थापन वाणिज्य संघले गर्ने संघका अध्यक्ष महतोले बताए । भारतिय सिमासंग जोडिएको गौरीगंज गाउँपालिका कोरोना भाईरसको उच्च जोखिममा रहेको छ । समुदायस्तरमा कोरोना भाईरसको संक्रमण नफैलियोस भनेर गाउँपालिकाले भाद्र १ गते सम्म लकडाउन गरेको छ ।