विश्वकपको एसिया छनोट फेरि स्थगित
काठमाडौं । सन २०२० मा कतारमा आयोजना हुने विश्वकप तथा २०२३ मा चीनमा आयोजना हुने एसियाकपको छनोट खेल पुन स्थगित गरिएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय आगमनमा भएको अवरोध, हरेक देशमा बढ्दो कोरोना संकटका कारण एएफसीले २०२१ सम्मका लागि छनोट प्रतियोगिता स्थगित गरेको हो ।
एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बुधबार कोरोना भाइरसको महामारीलाई मध्ये नजर गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु स्थगित गरिएको जनाएको छ । एएफसीले छनोट कहिले हुने भनेर नयाँ मिति भने घोषणा गरेको छैन । नयाँ मिति कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने एएफसीले जनाएको छ । छनोटको तयारी सुरु गर्ने क्रममा रहेको नेपालले प्रतियोगिताको दोस्रो चरणमा प्रतिष्पर्धा गरिरहेको छ । यस अघि नेपालले दशरथ रंगशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने कार्यतालिका भएपनि अब पुन खेल स्थगन सँगै उक्त कार्यतालिका पछि धकेलिएको छ ।
यसअघि एएफसीले असोज २२ गते चाइनिज ताईपेसँग तथा २७ असोजमा अष्ट्रेलियाको सामना गर्ने कार्यतालिका रहेको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्तिकमा खेल्ने कार्यतालिका रहेको थियो । समूह ’बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाइनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । नेपालले विश्वकप छनोटमा लागि भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारी समेत गरेको थियो । जसको लागि अखिल नेपाल फुटबल संघ –एन्फा) ले खेलाडीको कोरोना परिक्षण समेत गरेको थियो । यसबीचमा नेपालमा बढ्दो कोरोनाका कारण एन्फा प्रशिक्षणमा अन्योल कायमै थियो ।