झापामा कोरोना भाइरसको त्रास
-फोटो फायल
भद्रपुर । झापामा ‘ट्राभल हिष्ट्री’ नभएका स्थानीय ३६ जनामा कोरोना संक्रमण देखिएपछि स्थनीयबासीमा कोरोनाको त्रास फैलिएको छ । जनतामा फैलिएको त्रासले गर्दा, नियन्त्रणका लागि यहाँका स्थानीय तह तीव्र गतिमा सक्रिय हुनथालेका छन् । झापास्थित अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, कनकाइ नगरपालिका शिवसताक्षी नगरपालिकाल, भद्रपुर नगरपालिका लगायतका स्थानीय तहमा ‘ट्राभल हिष्ट्री’ नभएकाहरुमा समेत कोरोना संक्रमण देखिएको हो । समुदायस्तरमै कोरोना संक्रमित देखिएपछि सम्बन्धित वडा र स्थानीय तह नै शील गरिनुका साथै संक्रमितको कन्ट्याक ट्रेसिङ, स्वाब संकलन तथा पिसिआर परीक्षण तीव्र गतिमा अघि बढाइएको छ । केही स्थानीय तहमा आंशिक एवम् केहीमा पूर्ण रुपमा बन्दाबन्दी घोषणा गरिएको छ ।
शिवसताक्षी नगरपालिकाले साउन २१ गतेदेखि भदौ २ गतेसम्मका लागि नगर क्षेत्रमा लाग्दै आएको हाट बजार बन्द गरेको छ । कनकाई नगरपालिकाले आजदेखि भदौ ५ गतेसम्मका लागि दैनिक हाट बजार बन्दको घोषणा गरेको छ । अर्जुनधारा नगरपालिकामा साउन १८ गतेदेखि २६ गतेसम्मका लागि बन्दाबन्दी घोषणा गरिएको छ भने बिर्तामोड नगरपालिकाले साउन १८ गतेदेखि आज राति १२ बजेसम्मक बन्दाबन्दी घोषणा गरेको छ । त्यस्तै, मेचीनगर नगरपालिकाको वडा नं. ९, १० मा साउन २३ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि बन्दाबन्दी घोषणा गरिएको छ । भद्रपुर नगरपालिकाको वडा नं. २ समेत बन्दाबन्दी गरिएको छ । स्थनीय तह गाउँपालिकाहरुमा पनि ग्रामीण क्षेत्रमा लाग्दैआएका हाट बजारहरुमा नियन्त्रण गरेका छन् । ‘ट्राभल हिष्ट्री’ नभएका ब्यक्तिमा कोरोना संक्रमित देखिएका स्थानीय तहहरुले सम्बन्धित क्षेत्रमा पूर्ण लकडाउन गरी कन्ट्याक टे«सिङको काम धामधम भइरहेको जनाएकाछन् ।
स्थनीय तहले, तोकेको मापदण्ड विपरित गएमा जो कोहीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने जनाएका छन् । सो ऐनमा १ महिना कारागार वा १ सय रुपैँया जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । तर, भद्रपुर नगरपालिका वडा नम्बर १० स्थित चन्द्रगढीमा लाग्ने साप्ताहिक हाटबजारमा लगायत जिल्लाका अन्य हाट बजारमा भीड भीड बढेको र स्थानीय सरकारले बेवास्ता गरेको भन्दै स्थानीयबासीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । यसमा, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बजार अनुगमनलाई तीब्र बनाइने र भीड भाड भएको पाइएमा कानुन अनुसार कारवाही गरिने बताए ।