दोमुखा प्रवेशमा रोक
भद्रपुर । शिवसताक्षी नगरपालिकाले झापाको पर्यटकीय क्षेत्र दोमुखामो प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस संक्रमण समुदायमा देखिएसँगै नगरपालिकाले पर्यटीय क्षेत्रमा रोक लगाएको हो । नगरले कोरोना भाइरस रोकथाम समन्वय समितिले दुई दिन अघि मानिसको बढी जमघट हुने क्षेत्रमा आवत जावतमा रोक लगाउने निर्णय गरेको थियो । आजबाट सो निर्णयलाई कार्यान्वयन गर्दै अर्र्काे सूचना जारी नभए सम्मका लागि सो क्षेत्र सिल गरिएको हो । इलाका प्रशासन कार्यालय झिलझिलले शनिबार ३ बजेबाट पूर्ण सो क्षेत्रमा प्रवेश गर्न नदिने भएको छ ।
विर्तामोडमा केही दिन अघि लकडाउन भएपछि त्यहाँका अधिकांश मानिसहरु गर्र्मी छल्न दोमुखा आउनेको स्थानीय बासी बताउँछन् । जसका कारण कोरोना भाइरस संक्रमणको जोखिम उतिकै बढेको शिवसताक्षी वडा नंं १० का वडाध्यक्ष कर्णबहादुर थापाले बताए । थापाका अनुसार शनिबारबाटै सो क्षेत्रमा सुरक्षा कर्र्मीले निगरानी गर्ने छन् । दोमुखा र धनुषकोटी जोड्ने कनकाई नदीमा निर्माण भएको झोलङ्गे पूल पनि ‘सिल’ गरिएको छ । दोमुखा क्षेत्रका स्थानीय बासिन्दाले अब स्थानीय प्रशासनको अनुमती बिना बाहिर निस्कन पाउदैनन् । अति जरुरी काम पर्यो भने प्रहरीको समन्वयमा मात्र दोमुखा क्षेत्र बाहिर निस्कन पाउने अध्यक्ष थापाले बताए । नगरपालिकाले धार्मिक क्षेत्र सताक्षीधाममा पनि यस अघि नै आवत जावतमा रोक लगाइएको थियो ।