कोरोना संक्रमितको संख्या २१ हजार ७५० जना, मृतकको संख्या ६५ पुग्यो
नेपालमा आज थपिए ३६० कोरोना संक्रमित
काठमाडौँ । नेपालमा आज थप ३६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
हाल अहिले क्वारेन्टाइनमा ९ हजार २९६ जना रहेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ६ हजार २९६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । प्रदेश १ मा ३५८, प्रदेश २ मा २ हजार ६९३, वागमती प्रदेशमा ८३५, गण्डकी प्रदेशमा २८०, प्रदेश ५ मा ३७७, कर्णलाी प्रदेशमा २६३ र सुदूरपश्चिममा एक हजार ४९० सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ३९३ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २३३ जना संक्रमण मुक्त भएका छन् । ७०.५७ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए । नेपालमा आज भाइरस कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्लामा काठमाडौँ, पर्सा, रौतहट, महोत्तरी र कैलाली गरी पाँच जिल्ला रहेका छन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने छ पुगेको छ । प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङ, मा कोरोना संक्रमण शून्यमा झरेको हो ।