सुनको मूल्य मूल्य सुनेरै तर्सिन्छन् ग्राहक आजको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ
काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा व्यापक वृद्धि भएको छ । सुनको मूल्य बढेसँगै यसको बिक्री पनि ठप्प जस्तै भएको छ । किन्न सुनचाँदी पसलसम्म पुग्ने कतिपय ग्राहक मूल्य सुनेरै तर्सिन्छन् । सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य ग्राहक सुन किन्न भनेर आउने तर मूल्य सोधेर त्यसै फर्कने गरेको बताउँछन् । उनका अनुसार अहिले व्यापार ठप्प छ ।
गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकबाट सुनको आयातको कोटा दैनिक २० केजीबाट घटाएर १० केजीमा झारिएको छ । सोही अनुसार बाणिज्य बैंकहरुले दैनिक १० केजी मात्र सुन आयात गर्न पाउँछन् । अहिले बैंकमा २ सय ७५ केजी सुन थुप्रिएर बसेको बैकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले बताए । सुनको माग न्यून हुँदा सो परिणामको सुन बैंकमै थन्किएको हो । पछिल्लो एक सातामा ४५ केजीमात्रै सुन बिक्री भएको उनको भनाइ छ । जवकी सहज अवस्थामा दैनिक २५ केजीसम्म बिक्री हुने गरेको थियो । बैंकहरुले सुन दुबई, टर्की, स्वीट्जरल्याण्ड लगायतका देशबाट आयात गर्ने गरेका छन् ।
गत आर्थिक वर्ष २०७६।७७ मा २४ सय ५२ केजी सुन आयात भएको भन्सार विभागको तथ्यांक छ । सो वर्ष १३ अर्बको सुन आयात भएको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । लगातार बढ्दै गएको सुन बुधबार प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । हरेक दिन रेकर्ड बनाउँदै आएको सुनले बुधबार पनि रेकर्ड (प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ ) बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज २ हजार १४.८५ डलर प्रति औँस छ ।