नेपालमा आज थपिए ३८१ कोरोना संक्रमित

काठमाडौँ । नेपालमा आज थप ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हाल अहिले क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ६ हजार १७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३० जना संक्रमण मुक्त भएका छन् । ७०.८ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए । नेपालमा भाइरस कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । मृत्यु हुनेमा पर्साकी १८ वर्षीया युवती, पर्साकै अर्का ४६ वर्षीय पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट, महोत्तरी र कैलाली हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ । प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, भोजपुर, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङ, मा कोरोना संक्रमण शून्यमा झरेको हो ।