झापामा आज थपिए आठ जना संक्रमित
भद्रपुर । भारतबाट फर्किएका झापाका आठ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट भएको परीक्षणमा संक्रमणको पुष्टि भएको हो । कचनकबल गाउँपालिकाका ३ जना, भद्रपुर ८ का १ जना, गौरिगञ्जका २ जना र दमकमा २ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । उनीहरु सबै जना भारतबाट फकिएका हुन् । उनीहरुको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचार हुने भएको छ । बिर्तामोड र अर्जुनधाराका पाँच जना संक्रमितको पनि मेची अस्पतालमा उपचार भइरहेको छ । यो सँगै झापामा संक्रमितको संख्या ३ सय ८३ पुगेको छ ।