प्रचण्डसँगको बार्ता तात्तातो जेरीजस्तै गुलियो : ओली
काठमाडौं । सोमबार प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अचानक बालकोटस्थित निजी निवास पुगे । ओली निकट सहयोगीहरुका अनुसार लामो समय बालुवाटारमा रहेकाले आफ्नो घरको हेरचाह गर्न सोमबार उनी बालकोट पुगेका हुन् । झण्डै सवा घण्टा बालकोटमा बिताएर बालुवाटार फर्किएका ओलीले घरको चोटाकोठा चहार्न भ्याए । त्यतिमात्रै होइन बगैँचा र फलफूलका बोटविरुवा समेत रुचिपूर्वक नियाले ।
‘ओली बालुवाटारबाट बालकोट हिँडेपछि धेरैले अड्कल लगाए । रक्षाबन्धनको दिन रक्षाबन्धनकै लागि घर जानुभएको होला भन्ने अनुमान धेरैको थियो । तर, सो अनुमान विपरित उनले बालकोट पुगेर रक्षाबन्धन ग्रहण गरेनन् । ओली घर पुग्दा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, नेपाली सेनाका कर्णेल र जिल्लाका केही कार्यकर्ता पनि बालकोट पुगिसकेका थिए । प्रधानमन्त्री ओलीको चासोपछि प्रमुख जिल्ला अधिकारी लगायतले जिल्लामा कोरोना नियन्त्रणमा भइरहेको प्रयासबारे ब्रिफिङ गरेका थिए । त्यसपछि ओलीले केहीबेर घर कम्पाउण्डभित्र रहेको बगैँचा नियालेका थिए । ‘बगैँचामा तरकारी र फलफूल लगाइएको छ । फूलका विरुवाहरु पनि छन्, बगैँचा नियालेर केही राजनीतिक गफगाफ पनि भयो ।
ओली बालकोट पुगेपछि भक्तपुरकै सांसद महेश बस्नेत पनि पुगेका थिए । अन्यसँगको भेटघाट सकेर ओलीले बस्नेत र बाँस्कोटालगायतसँग राजनीतिक गफगाफ गरेका थिए । त्यसक्रममा बाँस्कोटाले चासोपूर्वक पार्टीभित्रको विवाद र सोमबार बिहान प्रचण्ड लगायतसँग भएको मिटिङबारे प्रश्न गरेका थिए । सो क्रममा ओलीले सोमबार बिहानको वार्ता जेरीजस्तै गुलियो भयो भनेर ठट्टा गरेका थिए । ‘मैले आजको मिटिङ कस्तो भयो ? भनेर प्रश्न गर्दा उहाँले ठट्यौलीमा पारामा ‘तात्तातो जेरीजस्तै गुलियो’ भन्ने जवाफ दिनुभयो’ बाँस्कोटाले ओलीसँग भएको संवादका केही अंश सुनाए । गुलियो भनेपछि कुरा मिलेको हो भन्ने बाँस्कोटालाई लाग्यो । त्यसपछि कुरा मिलेको हो त ? भन्ने दोस्रो प्रश्न उनले दोहोर्याए । जवाफमा ओलीले भने, ‘कुरा ठिकै भयो । तर अवस्था जस्ताको तस्तै छ ।’