नेपालमा आज थपिए ४१८ कोरोना संक्रमित

काठमाडौँ । नेपालमा आज थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

हाल देशभर ५ हजार ७३२ जना कोरोनाका सक्रिय संक्रमित छन्। यो कूल संख्याको २७.६ प्रतिशत हो । जसमा प्रदेश १ मा २९० जना, प्रदेश २ मा दुई हजार ३५७ जना, बागमती प्रदेशमा ६५१ जना, गण्डकी प्रदेशमा २७२ जना, प्रदेश ५ मा ३१५ जना, कर्णाली प्रदेशमा २९८ र सुदुरपश्चिम प्रदेशमा एक हजार ५४९ जना कोरोना संक्रिय संक्रमित उपाचारत रहेका छन् ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ र पुगेको मन्त्रालयले जनाएको छ । ७२.१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताए । नेपालका भाइरस कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट महोत्तरी र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने चार पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।