शारीरिकरुपमा अशक्त विद्यार्थीलाई ह्वीलचियर

बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले शारीरिकरुपमा अशक्त भएका झापा भद्रपुर –३ वैसावारीका तीन जना विद्यार्थीलाई ह्वीलचियर वितरण गरेको छ । शारीरिकरुपमा अशक्त भएका झापा भद्रपुर –३ वैसावारीका लेखनाथ गणेश , लक्ष्मण गणेश र कृष्ण गणेशलाई ह्वीलचियर वितरण गरिएको हो ।

भद्रपुर –३ वैसावारीकै आदर्श आधारभूत बिद्यालयमा अध्ययनरत् उनीहरुलाई शारीरिकरुपमा अशक्त भएर विद्यालय आउन जान समस्या भएको भन्दै रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले ह्वीलचियर वितरण गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले वताए । घरको आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले ह्वीलचियर किन्न नसकेपछि कष्टपूर्ण ढंगले जीवन गुजार्दै आइरहेका उनीहरुलाई विद्यालय आउन जान समस्या भएपछि पढाईमा सहजता ल्याउन ह्वीलचियर वितरण गरेको उनले वताए ।

भद्रपुर –३ वैसावारीकै आदर्श आधारभूत बिद्यालयमा कक्षा ५ मा अध्ययनरत् लेखनाथ गणेश ,कक्षा एकमा अध्ययनरत् लक्ष्मण गणेश र कक्षा एलकेजीमा अध्ययनरत् कृष्ण गणेशलाई वावुआमाले वोकेर विद्यालय ल्याउने र विद्यालय छुट्टी भएपछि घर लैजाने गरेको आदर्श आधारभूत बिद्यालयका प्रधानाध्यापक ललितबहादुर तामाङले वताए । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीको अध्यक्षता तथा भद्रपुर नपा वडा नंं. ३ कि अध्यक्ष कमला थुलुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वडाध्यक्ष थुलुङले समाजमा अपांगता भएकालाई हेर्ने दृष्टी फरक रहेको बताइन् । उनले शारीरिकरुपमा अशक्त भएर हिंडडुल गर्न नसकी विद्यालय आउन जान नसक्ने विद्यार्थीहरुलाई छनौट गरेर ह्वीलचियर वितरण गरेकोमा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई धन्यवाद दिइन् । रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले विद्यालयमा ह्वीलचियर वितरण गर्छ भन्ने सुनेर ह्वीलचियर लिन वावुआमाले वोकेर विद्यालय ल्याएका विद्यार्थीहरु ह्वीलचियरको सहारामा घर फर्किएका थिए ।शारीरिकरुपमा अशक्त भएर हिंडडुल गर्न नसकेका उनीहरु रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले प्रदान गरेको ह्वीलचियरको सहारामा हिंडडुल गर्न पाउँदा निकै खुशी भएका थिए ।