विनाकारण तीन वर्ष बढी कैद भुक्तान गरेका गिरीको रिहा

भद्रपुर । झापा कारागारमा विना अभियोग एक युवाले ३ वर्ष बढी कैद बस्नु परेको पाइएको छ ।

असामान्य मानसिक अवस्था भएका झापाको साबिक गरामनी–३ हाल बिर्तामोड नगरपालिका–८ का माधव गिरीले तीन वर्ष चार महिना ५ दिन झापा कारागारमा विना अभियोग कैदी भएर बस्नु परेको हो ।

सहज रूपमा बोल्न नसक्ने अवस्थाका उनलाई के अभियोग लगाएर ल्याइएको हो ? कति दिन कारागारमा राखिनु पर्ने हो भन्ने प्रमाणित कागजपत्रविना राखेको पाइएको छ । गिरीलाई थुनामा राख्नु पर्ने अभियोगको प्रमाण झापा कारागार प्रशासनसित नभेटिएपछि उच्च अदालत इलामको आदेशमा थुना मुक्त गरिएको छ ।

तत्कालीन कारागार प्रमुख यज्ञराज निरौलाको लापरवाहीले गर्दा सुस्त मनस्थितिका माधवको पक्षमा बोल्ने कोही नभएपछि थुना अवधी यकिन नभएर कारागार बस्न बाध्य भएको पीडित पक्षको भनाइ छ । जेलर निरौला २०७२ फागुन १४ गतेदेखि २०७५ साल कार्तिक ९ गतेसम्म कारागार प्रमुख भएर चलाएका थिए । माधव २०७३ साल साउन २८ गते सार्वजनिक अपराध अन्तर्गत झापा कारागारमा आए र सजाय भुक्तान गरी २०७३ साल माघ १८ गते छुटेकोसम्म अभिलेख कार्यालयमा छ ।

तर फेरि उनी २०७३ साल चैत्र ९ गते कारागारको आन्तरिक प्रशासनको अभिलेखमा कारागार प्रवेश गरेको भेटिन्छ । तर उनको अपराध र कारागारको अवधिको अभिलेख जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, कारागार, कारागार आन्तरिक प्रशासनमा कतै पनि छैन । हालका कारागार प्रमुख राजेन्द्र निरौलाले उनको विषयमा खोजी सम्पूर्ण निकायमा नभेटेपछि उनको पहलमा मङ्गलवार इलाम उच्च अदालतको आदेशमा परिवार र जनप्रतिनिधिको रोहवरमा कैद मुक्त गरी जिम्मा लगाएका छन् । झापा कारागारका प्रमुख निरौलाका अनुसार गिरीको कागजपत्र कतै नभेटिएपछि उनको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट हाल्न लाएर उच्च अदालत विराटनगरको इलाम इजलासको फैसलाले थुना मुक्त गरिएको हो ।

कारागारका आन्तरिक प्रशासन प्रमुख मोहन धितालका अनुसार २०७३ सालमा आएको देखिन्छ तर कुन कसुरमा आएको भन्ने कतै भेटिएन सो कामको लागि कारागार प्रमुखले भूमिका खेलेको बताए । उनले गिरीको कुनै अभिलेख नभएपछि उच्च अदालतको आदेश पछि थुनामुक्त भएको बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले गिरीलाई उच्च अदालतको आदेश लगत्तै छाडिएको जानकारी दिए । उनले गिरीले पहिलो पटक अदालतको आदेश अनुसार कैद भुक्तान गरेको र दोस्रो पटक उनी के कारणले पुन ः अदालतमा प्रवेश गरे भन्ने विषयमा आफूहरू अनविज्ञ रहेको उल्लेख गरे । गिरी जेल पर्नुको कुनै पनि कारण प्रहरीसँग नरहेको प्रहरी प्रवक्ता थापाले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले अदालतको आदेश लगत्तै गिरीलाई थुनामुक्त गरिएको बताए । गिरीको विषयमा कतै कुनै पनि प्रमाण नभएकाले उनलाई अदालतको आदेश बमोजिम छाडिएको प्रजिअ रानाको भनाई छ ।

कुनै पनि व्यक्ति पक्राउ पर्दा उसको सबै कारणहरू अभिलेखको रुपमा प्रहरीले सुरक्षित राख्नु पर्ने हुन्छ । साथै अदालतको आदेश अनुसार जेल चलान भएमा कारागार प्रशासनसँग सबै विवरण सुरक्षित हुन जरुरी छ तर, झापामा भने कर्मचारी लापरबार्हीका कारण निर्दोष व्यक्तिले अनाहकमा जेल बस्नुपर्ने अवस्था आएको छ । बिना कसुर लामो समय जेल बस्नु परेका व्यक्तिलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने सामाजिक अगुवाहरूको भनाई छ । दोषी उम्कन नहुने र निर्दोष व्यक्तिले विना कारण सजायको भागिदार बन्नु पर्ने अवस्था आउन नहुने तर्फ सबै सजग बन्नु पर्ने बताइएको छ ।