विर्तामोड नगर क्षेत्रका केही स्थानीयलाई घरबाहिर ननिस्कन आग्रह

विर्तामोड । तीनदिन अघि झापाको बाह्रदशीका कोरोना संक्रमण पुष्टि भएका दुईजना विभिन्न कामले विर्तामोडमा समेत आएको पुष्टि भएपछि विर्तामोडमा उच्च सर्तकता अपनाइएको छ । उनीहरु गएको ठाउँ र सम्पर्कमा आएका मानिसहरुको खोजी गर्दै विर्तामोड नगर क्षेत्रका स्थानीयलाई घरबाहिर ननिस्कन आग्रह गर्दै होम क्वारेन्टाइनका रुपमा बस्न लगाइएको विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले जानकारी दिनुभयो । स्वास्थ्य र राजनीतिक क्षेत्रमा क्रियाशील उनीहरुको सम्पर्कमा पुगेका होम क्वारेन्टाइनमा बसेकाको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने तयारी गरिएको उपप्रमुख महतराले बताउनु भयो ।

स्वाव संकलन गरिएकाहरुको रिपोर्ट नआएसम्म कोरोना संक्रमणको उच्च जोखिममा रहेको विर्तामोडमा सतर्कता अपनाउनका लागि आग्रह गर्ने निर्णय गरिएको छ । नगरपालिकामा आज कोरोना भाइरस महामारी रोकथाम तथा राहत व्यवस्थापन नगरस्तरीय समिति बिर्तामोडको बैठकले परीक्षण गरिएका मध्ये कसैको रिपोर्ट पोजेटिभ देखिएमा निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरेको छ ।

कोरोना समुदायमा सरेको पुष्टि हुने बित्तिकै निशेधाज्ञा लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको उपप्रमुख पवित्रा महतरा प्रसाईले जानकारी दिनुभयो ।

बाह्रदशीका संक्रमितहरुको सम्पर्कमा आएका स्वास्थ्य क्षेत्रका ६० सहित अन्य गरी ७० जना बढीको पहिचान गरी घर बाहिर ननिस्कन निर्देशन दिइएको बताइएको छ । बैठकले विहिबार विहानैदेखि नगरक्षेत्रमा कोरोना संक्रमणप्रति उच्च सतर्कता अपनाउँदै भीडभाड नगर्न, बेलुका ५ बजे नै बजार बन्द गर्न, कोरोनाबाट बच्नका लागि संवेदनशील भइ सचेत र सतर्क रहन, शंकास्पद संक्रमितहरुको पहिचान गर्ने, सर्वसाधारणलाई सचेत गराउने सूचना प्रवाह गर्ने उप–प्रमुख प्रसाईले बताउनु भयो ।

बाह्रदशीका संक्रमण पुष्टि भएका दुई मध्ये एक नेकपाका नेता र अर्का निजी क्लिनिक र फार्मेसी संचालन गरेका स्वास्थ्यकर्मी रहेको खुलेको छ । उनीहरु कोरोना पुष्टि भएका उनीहरु केही दिनअघि विर्तामोड आएको खुलेपछि नगरपालिकाले उच्च सतर्कता अपनाएको हो । कोरोना पुष्टि भएसंगै धरानमा उपचाररत रहेका नेकपाका ती नेताले आफूसंग भेटघाट भएकाको विवरण सम्झिएर साध्य नभएको बताएका छन् । उनी केही दिनअघि विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पार्टी सदस्यताको फायल बुझाउन आएका थिए । साथै सामाजिक संघसंस्थाको बैठकमा पनि उनीे सहभागि भएको खुलेको छ ।