सुधार केन्द्रमा रहेका एक व्यक्तिको मृत्यु

भद्रपुर । झापाको धुलाबारी स्थित सनराइज सुधार केन्द्रमा रहेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–२ का २५ वर्षीय प्रकाश खरेलले आफ्नै पेटमा सिसा प्रहार गरेर गम्भीर घाइते भएका थिए । गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

गत असार १३ गते उक्त सुधार केन्द्रमा पुर्‍याएकोमा असार १५ गते सुधार केन्द्रको झ्यालको सिसा फुटाएर भागेका थिए । भागेका खरेललाई साउन ३ गते पुनः सोही सुधार केन्द्रमा ल्याइएकामा उनले सोही दिन सिसा फुटाएर आफ्नै पेटमा प्रहार गरेको प्रहरीले जनाएको छ । तत्काल उनलाई उपचारका लागि बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटल पुर्‍याएको र त्यहाँ उपचार सम्भव नभए पछि विराटनगर लागिएकोमा उपचारकै क्रममा नोबेल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।