आज नेपालमा थपिए २७४ जना कोरोना संक्रमित
काठमाडौँ । नेपालमा आज थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
देशभरका प्रयोगशालामा ६ हजार ३०४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । नेपालमा बितेको २४ घण्टामा थप २२७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।
कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा मोरङका ४५ वर्षीय पुरुष, पर्साका ७० वर्षका पुरुष र पर्साकै ६८ वर्षका पुरुष रहेको मन्त्रालयले पुष्टि गरेको छ । रौतहट र कैलाली जिल्लामा ५ सयभन्द बढी संक्रमित उपचाररत छन् भने भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला संक्रमणमुक्त रहेका छन् ।