बाह्रदशी गाउँपालिकामा मास टेस्टिङ शुरु

भद्रपुर । झापाको बाह्रदशी गाउँपालिकामा ट्राभल सिटर नभएका स्थानीय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएकोले गाँपालिकाको वडा १, २, र ३ लाई शिल गरिएको छ । उनीहरु वडा २ र ३ का निवासी हुन् । संक्रमित हुनेमा स्थानीय वडा नम्बर ३ का नेकपाका स्थानीय नेता र अर्का वडा २ का औषधि व्यवसायी रहेका छन् । बाह्रदशीमा पहिलो पटक स्थानीयमा संक्रमण देखिएको हो । यस अघि देखिएका १२ जना भारत लगायतका देशबाट फर्किएका थिए ।

ट्राभल सिटर नभएका स्थानीय ब्यक्तिमा कोरोना पोजेटिभ देखिएकाले बिषेशगरी उनीहरुसंग सम्पर्कमा आएका हुनसक्ने वडा १ देखि ३ सम्म हाललाइ तीन वटा वडा शिल गएिको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गसिंह राजवंशीले बताए । अहिले ति तीन वडाका ४१ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको अध्यक्ष राजवंशी जानकारी गराएकाछन । राजबंशीले बताए अनुसार, संक्रमितसंग सम्पर्कमा आएका हुनसक्ने सम्भावित ब्यक्तिहरुको ट्रेसिङ गर्ने काम भइरहेको छ ।

संक्रमित दुबै जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । बाह्रदशीमा लोकल ट्रान्समिशन देखिएकाले मास टेस्टिङ शुरु गरिएको फोकल पर्सन चम्लागाईले जानकारी दिए । योसँगै झापामा संक्रमितको संख्या ३ सय ५१ पुगेको छ भने निको भएर फर्किनेको संख्या ३ सय ४ रहेको छ ।