ओली यसैगरी अघि बढे दुर्घटना निश्‍चित ः दाहाल। नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चलिरहेको विवादले उग्ररुप लिइरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष केपी शर्मा ओली विधि मिच्दै अघि बढेको निचोड निकालेका छन् । बालुवाटारमा मंगलबार बसेको दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निचोड निकालेको हो । बैठकपछि बोल्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो बताएका हुन् । ’प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विपरीत आज बस्‍ने स्थायी कमिटी बैठक स्थगित भएको सूचना प्रसारित गरेको उचित थिएन’, बैठकको निष्कर्ष सुनाउँदै उनले भने, ’यस विषम परिस्थितमा पार्टी एकता विधि र परम्परालाई ध्यानमा राखी अघि बढ्नुपर्छ । यसबारेमा अर्का अध्यक्ष केपी ओलीसँग छलफल गरी बैठक सुचारू गर्ने जिम्मा कार्यकारी अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’ प्रवक्ता श्रेष्ठले एकताको रक्षा गर्न पार्टीलाई विधिसम्मतरुपमा चलाउनुपर्ने जरूरी रहेको बताए । ’पार्टी एकता रक्षा गर्नका लागि पार्टीलाई विधिसम्मतरुपमा चलाउनुपर्छ’, उनले भने, ’वर्तमान संकटलाई सकारात्मक रुपमा निकासमा योगदान दिनका लागि पार्टीका सबै नेता र कार्यकर्तालाई भूमिका खेल्न बैठकले आह्वान गरेको छ ।’ उनले अहिले पार्टीमा देखिएको विवादमा अन्योल हुनुपर्ने कुनै जरूरी नरहेको बताएका छन् । ’अन्योल हुनुपर्ने कुनै कारण छैन’, उनले भने, ’अहिले देखिएको विवादले सकारात्मक निकास पाउँछ ।’

उनले आजको बैठकमा दुई आमन्त्रित सदस्यसहित २९ जना स्थायी कमिटी सदस्य उपस्थित भएको बताए । ’२९ जना स्थायी कमिटी सदस्यको बैठकले ओलीले स्थायी कमिटी बैठक स्थगित गर्नुभन्दा पहिले परामर्श नगरेकोमा रोष प्रकट गरेको छ,’ उनले भने, ’बैठकअघि पनि ओलीसँग प्रचण्ड र झलनाथ खनालले छलफल गर्नुभएको थियो । बैठक बोलाउन अनुरोध गर्नु भएको थियो । तर उहाँले कुरा नसुनेपछि यो बैठक बसेको हो।’ श्रेष्ठले पार्टीको एकता रक्षा गर्न हरसम्भव पहल गर्न दाहाललाई भनिएको जानकारी दिए । ’अध्यक्ष ओलीसँग पनि छलफल गर्ने कुरा भएको छ । अर्को बैठक त्यसपछि निर्धारण हुनेछ । हाम्रो बैठकले धैर्यताका साथ अघि बढ्ने भन्‍ने भएको छ’, उनले भने, ’ओलीजीसँग दाहालले छलफल गर्नु हुने भएको छ । अरु कमरेडहरुसँग पनि छलफल हुनेछ । हरहालतमा पार्टी एकताको रक्षा गर्ने गरी यथास्थितिमा गुणात्मक परिवर्तन गर्ने गरी निर्णय हुनेछ ।’ उनले एकता महाधिवेशन पार्टीको गत माघ १५—१९ मा बसेको केन्द्रीय कमिटीको निर्णयानुसार अघि बढ्ने पनि जानकारी दिए । ’धैर्यपूर्वक सुझवुझ पूर्ण निर्णय हुन्छ । बहुमतबाट छिटो निर्णय गरेर अघि बढ्ने भन्दा सहमतिमै जाने छौं ।’, उनले भने, ’मिति नै किटान गर्न सकिन्‍न । बैठकको मिति त निर्धारण भएको छैन । अहिले नै प्रक्रियाबाट बहुमत र अल्पमतबाट निर्णयबाट हुँदैन ।’