इस्टुको आन्दोलनप्रति समर्थन गर्दै अन्तराष्ट्रिय संगठनले तलव दिन अनुरोध गर्यो

भद्रपुर । शिक्षकहरूको अन्तरास्ट्रिय संगठन इजुकेशनल इन्टरनेशनल (इआइ) ले नेपालमा कार्यरत संस्थागत विद्यालयका शिक्षक कर्मचारीको तत्काल सवै तलव भुक्तानी गर्ने व्यवस्था मिलाउन नेपालका प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) सदस्य रहेको सो संगठनले विश्व मानव अधिकार समेतको ख्याल गरेर श्रमिकको बाँच्न पाउने अधिकारको रक्षाका लागि दायित्व बोध गर्न नेपालका प्रधानमन्त्रीलाई पत्रलेखी सस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई तत्काल सबै महिनाको तलब भुक्तानीको व्यवस्था गर्न आग्रह गरेको हो ।

विश्वका १०३ राष्ट्रसम्म विस्तारित भइसकेको इआइले सन्सारभरका विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको हक अधिकार रक्षाका लागि काम गर्दै आएको छ ।

नेपालमा कार्यरत अधिकाम्स शिक्षक कर्मचारीले गएकै शैक्षिक वर्षको तलव नपाएपछि दुई महिनायता इस्टुले सामाजिक न्यायका लागि आन्दोलन गरिरहेकोे छ ।

आन्दोलनमा जानु पर्ने बाध्यता संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले काम गरिसकेको समयको तलव पाउन नसकेको तथा सरकारले समेत शिक्षक कर्मचारीको जीवन रक्षाका लागि पहल नगरेपछि इस्टु सडक आन्दोलनमा उत्रेको हो ।

बौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक, सहचालक लगायतलाई काम लगाउने अधिकाम्स विद्यालयले काम गरिसकेको समयको पारिश्रमिक नदिँदा गाँस जुटाउन समस्या उत्पन्न भएको छ भने सामाजिक न्याय र बाँच्न पाउने अधिकार समेतको अपहरण भएपछि अपमान बोध गर्दै शिक्षक कर्मचारी सडकमा आउन बाध्य भएका छन् ।