भद्रपुरमा विद्यालय संचालनका लागि तयार पारिएको मापदण्ड विपरित विद्यालय संचालन हुँदै

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय संचालन गर्न अनुमती दिने निर्णय गरेको भद्रपुर नगर शिक्षा समितिले विद्यालयको भौतिक पुर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि गरेका प्रतिरोधात्मक उपाय बारे अनुगमन गरिनसक्दै अधिकाम्स विद्यालय संचालनमा आएको पाइएको छ ।

नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा शिक्षा, स्वास्थ्य सहितको प्राविधिक टोलीले तत्काल विद्यालय संचालन गर्न आवश्यक पुर्वाधार पूरा गरे नगरेको स्थलगत अनुगमन गरेपछि मात्र संचालित हुनु पर्नेमा यस अगावै संचालनमा रहेका अधिकाम्स विद्यालयले नगर सरकारको निर्णय नमानेको पाइएको हो ।

कोरोना संक्रमण उच्च रहेको सिमावर्ती भारतको विहार वंगालसित सिमाना जोडिएको भद्रपुर नगरमा न्युनतम मापदण्ड पूरा नगरी संचालित विद्यालयमा कोरोना संक्रमण त्रास बढेको छ । यस्ता विद्यालयहरूले शिक्षक, अभिभावक, बाल क्लबलाई समेत बेवास्ता गर्दै आफू खुसी विद्यालय खोलेको आरोप समेत लाग्‍न थालेको छ ।

भद्रपुर नगर शिक्षा समितिको मितिले २०७७।०४।०८ गते बसेको बैठकले विद्यालय संचालनमा ल्याउन विद्यालय संचालन कार्यविधि २०७७ अपनाउनु पर्ने निम्न अनुसारको निर्णय गरेको थियो ।


विद्यालय संचालन कार्यविधि २०७७

नेपाल सरकार तथा नगरपालिकाले जारी गरेको कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उद्धार गर्न जारी गरिएका मापदण्ड ,स्वास्थ्य एवं सुरक्षाको नियमहरू पालना गरिगराई यो कार्यविधि२०७७ भद्रपुर नगरपालिका क्षेत्र भरी कार्यान्वयन हुनेछ । यस कार्यविधमा सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठनका मुख्य पाँच पक्षहरू विद्यालय, विद्यार्थी, अभिभावक, स्वास्थ्य शाखा र शिक्षा ,युवा तथा खेलकुद शाखाले पालना गर्ने अलग—अलग मापदण्ड तपशील बमोजिम तयार गरी संचालन गरिनेछ ।

१) विद्यालय पक्षले –

क) कक्षा कोठा र विद्यार्थी बस्ने सिट प्लानिङ्ग (दुरी कायम गर्न) र शिक्षकहरूको पठनपाठनको कार्य तालिका तयारी गर्नु पर्नेछ ।

ख) बाल क्लब र अभिभावकहरूसँग पठनपाठन संचालन वारे संवाद र कोभिड १९ संक्रमणबाट बच्ने उपाय वारे सचेतनता कार्यक्रम नगर स्वास्थ्य शाखाको समन्वयमा संचालन गर्नु पर्नेछ ।

ग) केस ईन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ्गको प्रयोजनको लागि विद्यार्थी र अभिभावकको मोबाईल वा ईमेल ठेगानासहित समेटिएको अभिलेख तयार गर्नुपर्नेछ ।

घ) गुणस्तरीय स्यानिटाईजर र डिस इन्फेक्सन गर्ने डिभाईस (मेसिन ) र सो कार्यकालागि प्रयोग गरिने स्यानिटाईजर , ५५ हाईपोकोलोराईड वा क्लोरिन वा ब्लिचिङ्ग वा भाईरेक्स वा स्वास्थ्य शाखाले तोकेको गुणस्तरीय औषधिको व्यवस्थापन गर्नु पर्नेछ ।

ङ) साबुनसहित हातधुने समुचित प्रविधियुक्त स्थानको व्यवस्था गर्नुपर्नेछ ।

च) स्वच्छ पिउने पानि, मनतातो पानि समय—समयमा पिउने व्यवस्था गरिनु पर्नेछ ।

छ) विद्यार्थीहरूको गतिविधि वा स्वास्थ्य प्रतिकुलता भए वा नभएको अवस्था वारे जानकारी गर्ने र सतर्कता वारे ध्यान दिन विद्यार्थीलाई पटक—पटक जानकारी गराउनु पर्नेछ ।

ज) सवारी साधनको व्यवस्थित र सुरक्षित रूपमा प्रयोग हुन पर्ने ।

झ) घर जाने समयमा स्कुल व्याग डिस ईन्फेक्सन गर्ने ।

२) विद्यार्थी पक्षले –

क) मास्क अनिवार्य लगाउने र सामाजिक दुरी (एक—अर्कामा संपर्कित नहुने) कायम गर्नु पर्नेछ ।

ख) समय—समयमा साबुन पानिले हात धुनु र आफ्नो साथमा रहेको वा विद्यालयमा राखिएको स्यानेटाईजरको उचित प्रयोग गर्नु पर्नेछ ।

ग) फोहोर उत्सर्जन नगर्ने र फोहोरको उचित वा तोकिएको स्थानमा व्यवस्थापन गर्नुपर्नेछ ।

घ) ध्रुमपान,मध्यपान वा प्रतिबन्धित पदार्थ प्रयोग गरिने छैन ।

ङ) चिसो जन्य वा शरीरिक प्रतिकुलता बढाउने खाना—खाजा खान पाइने छैन ।

छ) खाजा घरबाटै ल्याउने र आफुले मात्र खानु पर्नेछ ।

ज) जथाभावी हाच्छिँउ गर्न र थुक्न पाइने छैन ।

झ) घरबाट विद्यालय र विद्यालयबाट घरको सोझो यात्राबाहेकका बजारमा अन्य संम्पर्क गरिने छैन ।

ञ) घर फर्किएपछि लगाएका पोसाक सर्फपानीको बाल्टिमा खोल्ने र केहि समय पछि धुने र अनिवार्य स्नान गर्नु पर्नेछ ।

ट) ज्वरो, रुघाखोकी वा स्वास्थ्य प्रतिकुल भए विद्यालय नआउने र सो को सूचना स्वास्थ्य शाखालाई दिनु पर्नेछ ।

ठ) कोभिड १९ संक्रमणबाट बच्ने मापदण्डको पूर्ण पालना गर्नुको अतिरिक्त विद्यार्थीले पालन गर्नु पर्ने अनुसासन सम्बन्धि नियमको पालन गर्ने ।

३) अभिभावक पक्षले –

क) विद्यार्थीले निजी प्रयोग गर्ने मास्क, पञ्जा, स्यानेटाइजर उपलब्ध गराउनु पर्नेछ ।

ख) घरबाटै खाजा बनाइ पठाउनु पर्नेछ ।

ग) प्रयोग भएको पोसाक र ब्याग सरसफाई वा संक्रमणबाट सुरक्षित गरि दिनु पर्नेछ ।

घ) घरबाट विद्यालयसम्म जाने र फर्कि आउने अवस्थासम्म पूर्ण निगरानी राख्नु पर्नेछ ।

ङ) संक्रमण पुष्टि भए उपचारकालागि तथा केश ईन्भेस्टिगेसन र कन्ट्र्याक्ट ट्रेसिङ्गका लागि स्वास्थ्य शाखालाई सहयोग गर्ने ।

च) स्वास्थ्य प्रतिकुल भए विद्यार्थी घरमा राख्ने, हिडडुलमा प्रतिबन्ध लगाउने र थप ईन्भेस्टिगेसनका लागि स्वास्थ्यकर्मीको सम्पर्क गर्ने ।

४) नगर स्वास्थ्य शाखा पक्षले

क) पिसिआर परिक्षणका लागि स्वाव नमुना संकलन उचित व्यवस्था गर्ने । कोभिड १९ संक्रमण पुष्टि भए उपचारका लागि प्रदेश सरकारले व्यवस्थापन गरेको अस्पतालसम्म पुर्याइ उपचारको प्रबन्ध गर्ने ।

ख) कोभिड १९ संक्रमणबाट बच्न, बचाउन आवश्यक राय परामर्श दिने ।

ग) स्वास्थ्यमा प्रतिकुलता तत्काल देखिए वा संक्रमणको लक्षण मिल्दोजुल्दो भए कक्षा वा घरको सम्पर्कबाट हटाइ थप अनुसन्धान गर्न सहयोग गर्ने ।

घ) केश ईन्भेस्टिगेसन र कन्ट्राक्ट ट्रेसिङ्गका लागि थप मद्धत लिइ आवश्यक व्यवस्था गर्ने ।

ङ) अन्य स्वास्थ्य सम्बन्धि परामर्श वा निर्देशन गर्ने ,

५) शिक्ष, युवा तथा खेलकुद शाखा पक्षले –

क) विद्यालयमा स्वास्थ्य र सुरक्षा व्यवस्थापन के कसरी गरे वा नगरेको , कक्षा कोठा वा सिट प्लानिङ्ग, पठनपाठन कार्यतालिका अभिलेखित गर्ने र अनुगमन गरी आवश्यक परामर्श दिने ।

ख) विद्यालयले विद्यार्थी सम्बन्धि तयार पारेको अभिलेख प्रमाणीकीकरण गरी राख्ने ।

ग) समय—समयमा तोकिएको नेपाल सरकार स्वास्थ्य मन्त्रालय वा गृह मन्त्रालयले कोभिड १९ संक्रमणबाट बाँच्न बचाउन जारी गरेको मापदण्ड कार्यान्वयन भए नभएको अनुगमन गरी लागु गर्ने गराउने ।

घ) पठनपाठन संचालन गर्न गराउन आवश्यक मापदण्ड पूरा भए नभएको अनुगमन गरी संचालन अनुमति दिनेछ ।

५) नेपाल सरकार शिक्षा तथा विज्ञान, प्रबिध मन्त्रालयले जारी गरेको प्रारम्भिक मापदण्ड , निर्देशन अनुसार पठनपाठन कार्य सुरक्षित गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, प्याब्सन—एन प्याब्सन र ईस्टु , शिक्षक सम्बन्धित संघ/ संगठन, वडा समिति तथा टोल विकास समिति समेतलाई जिम्मेवारी बाँडफाँड गरी सामुहिक जिम्मेवारी र दायित्व बोधका साथ कार्य गरिनेछ ।

६) संस्थागत विद्यालयबाट पिसिआर परीक्षण बापत न्यूनतम् लागत सहभागिता गरिनेछ ।

नगर शिक्षा समितिले तय गरेका माथिका कुनै पनि मापदण्ड अनुशरण नगरी नगरभित्र साउन लाग्नु अगावैबाट केही संस्थागत विद्यालयमा पठनपाठन भइरहेको भए पनि नगर सरकारले कारवाही गर्न सकिरहेको छैन ।