विर्तामोडको लिवर्टी स्कुलले नियम विपरित शिक्षक निस्काशन गरेको पुष्टि : कानुनी उपचारमा जाने निर्णय
भद्रपुर । विर्तामोड ५ स्थित लिवर्टी अंग्रेजी माध्यमिक विद्यालयले बन्दाबन्दीको समयमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारी निस्काशन गरेको पाइएको छ ।
सरकारको निर्देशन तथा कम्पनी ऐन विपरित विद्यालयका संस्थापक/ प्रिन्सिल पुरन विष्टले मौखिक आदेश दिएर विद्यालयमा कार्यरत ३ जना निस्काशन गरेको पाइएको हो ।
संस्थापक विष्टले विद्यालय स्थापना कालदेखि कार्यरत वेदनिधि रिमाल, ४ वर्षयता कार्यरत सीता कार्की र २ वर्षयता कार्यरत मञ्जु कोइरालालाई विना कारण निस्काशन गरेको पीडितहरूले संस्थागत विद्यालय युनियन विर्तामोड नगरपालिका तथा जिल्ला कार्य समितिमा दिएको उजुरीमा उल्लेख गरिएको छ । पीडित शिक्षक शिक्षिकाहरूको उजुरी अनुसार हरेक वर्ष विनाकारण शिक्षक निस्काशन गर्दै आएका सो विद्यालयका सञ्चालकले महिला शिक्षिकामाथि अभद्र व्यवहार गर्ने गरेका छन् ।
कक्षा १० सम्म सञ्चालनमा रहेको सो विद्यालयमा गैर नेपाली नागरिकलाई समेत शिक्षणमा लगाइने गरेको पाइएको छ । कम्पनी ऐन अनुसार सञ्चालनमा रहेको विद्यालयले १३ वर्षदेखि काम लगाएका शिक्षक कर्मचारीलाई समेत नियुक्ति पत्र लगायत न्युनतम सेवा सुविधा नदिइ काम लगाएर शोषण गर्ने गरेको पाइएको छ ।
पीडित शिक्षक वेदनिधि रिमालले शैक्षिक वर्ष २०६४ मा स्थापना भएदेखि निरन्तर शिक्षण सेवा दिइरहेको बताउँदै यस वर्षको शैक्षिक सत्र सुरू हुन नपाउँदै अब विद्यालयमा नआउनु भनेर फोन मार्फत मौखिक आदेश दिएपछि आफू मानसिक रूपमा प्रताडित भएको सुनाए । शिक्षक रिमालले आफ्नो उर्वर उमेर झुप्रे विद्यालयको स्तर उन्नतिमा लगाएको स्मरण गर्दै आज ५ तले बिल्डिङ भएपछि विनाकारण रित्तो हात लखेट्दा अन्यायमा परेको दुखेसो पोखे ।
४ वर्ष अगाडि विद्यालयमा पढाउन बोलाउँदा राम्रो सेवा सुविधा सहित भविश्यको समेत प्रबन्ध गरिदिने वचन दिएका संस्थापक विष्टले संकटको यस घडीमा दिनु पर्ने पारिश्रमिक समेत नदिइ निस्काशनको जानकारी गराउँदा छाँगाबाट झरेभैं भएको पीडा सुनाइन् । शिक्षिका सीता कार्कीले । घरमा रहेका लालाबालालाई समेत समय कम दिएर विद्यालयको उन्नतिका लागि रगत पसिना बगाएकी कार्कीलाई विद्यालय सञ्चालककले भैसी गोठाले शैलीमा निस्काशन गरेकोमा खप्न नसक्ने अपमान बोध भएको बताइन् ।
२ वर्षयता शिक्षण गरिरहेकी मञ्जु कोइरालाले गएको शैक्षिक वर्षको साउनमा एपेण्डिक्स भएर अप्रेसन गर्नु परेको थियो । सोही बेला १८ दिन विद्यालय आउन नसकेकी कोइरालासित रीस पोख्दै सञ्चालक विष्टले यस शैक्षिक वर्षबाट विनाकारण निस्काशन गरेका रहेछन् । कोइराला भन्छिन् — निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारी फलामले बनिएका हुनु पर्ने हो कि कसो ? विरामी पर्दा विदा नपाउँने ।
शिक्षक निस्काशनका बारेमा प्रश्न गर्दा संस्थापक÷प्रिन्सिपल पुरन विष्ट राख्ने निकाल्ने आफ्नो अधिकार भन्दै ऐन नियमको परिधिले नछुने बताउँछन् । उनले कोही १३ वर्ष देखि काम गरुन् कि २ वर्षदेखि कक्षा कोठामा निदाउने, मोवाइल चलाउने काम गरेकाले सजाय स्वरूप निस्काशन गरेको तर्क गर्छन् ।
यता विद्यालयमा पढिरहेका विद्यार्थीहरू भने निस्काशनमा परेका शिक्षक शिक्षिका पठन पाठनमा अब्बल रहेको बताउँदै विद्यालय प्रशासनले लगाएको आरोप सत्य नभएको बताउने गरेका छन् ।
विना अपराध बन्दाबन्दीको समयमा शिक्षक कर्मचारी निस्काशन गर्ने कार्य ५ दिन भित्र नसच्चिए लिवर्टी स्कुलले कानुनी उल्झन समाना गर्न तयार रहनु पर्ने भन्दै संस्थागत विद्यालय शिक्षक युनियन झापाका अध्यक्ष होमराज खतिवडा प्रज्ञिक थलो विद्यालयलाई रणभूमि नबनाउन चुनौति दिन्छन् । उनका अनुसार संस्थापक÷प्रिन्सिपलको आचरण भैसी चराउने गोठालाको जस्तो बनाउँदा शिक्षा लिन आएका विद्यार्थीले के सिक्न पाउँछन् त ? प्रति प्रश्न गछन् ।
विद्यालयको शिक्षक निस्काशन विवाद मिलाउन प्याब्सन, इस्टु जस्ता सरोकारवाला निकायले एक महिनायता गरेका प्रयास संस्थापक प्रिन्सिपलका कारण असफल भएपछि विवाद बढ्दै जाँदा विद्यार्थी तथा अभिभावकमा समेत नकारात्मक प्रभाव पर्न थालेको उनीहरूको गुनासो छ ।