कांग्रेस महामन्त्री कोइरालाको प्रश्न : विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति कि नेकपाको ?

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियताप्रति प्रश्न गरेका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको आन्तरिक विवादमा राष्ट्रपति भण्डारीले चासो देखाउँदै सक्रियता बढाउनुले राष्ट्रपति संस्थाको तटस्थ भूमिकाप्रति नै प्रश्न उठ्ने गरेको उनले बताए ।

वीपी कोइरालाको ३८ औं स्मृतिमा मंगलबार वीपी युवा नेतृत्व विकास मञ्चले गरेको कार्यक्रममा महामन्त्री कोइरालाले राष्ट्रपतिका यस्तै भूमिका र क्रियाशीलताले जनतामा गणतन्त्रभन्दा राजतन्त्र नै ठीक भन्ने भ्रम पर्न सक्ने पनि उल्लेख गरे । ‘राष्ट्रपति त तटस्थ हुनुपर्यो, राष्ट्रपतिले यसरी हस्तक्षेप गरेर जानुभएन,’ उनले भने, ‘उहाँ त राष्ट्रपति नेपालको होइन कि नेपाल कम्युनिष्ट पार्टी नेकपाको राष्ट्रपति भएर जानुभयो, यो गलत हो भन्ने मेरो धारणा हो ।’ केही जमातले राष्ट्रपतिको सक्रियतालाई लिएर कमसेकम राजा त तटस्थ हुन्थे भन्न थालेको पनि कोइरालाले बताए ।

उनले पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाइतर समूहबाट सहमतिमै एक जना सभापति उठ्ने बताए । तर ती उम्मेदवार को हुनेछ भन्ने उनले खुलाएनन् । छलफल जारी रहेको मात्रै उनले बताए । कांग्रेसको महाधिवेशन फागुनमा छ ।

सभापति देउवाले महाधिवेशन घोषणा भइसकेको अवस्थामा विभाग गठन र पूर्णता दिने काम गरेर महाधिवेशन प्रभावित बनाउन खोजेको आरोप उनको थियो ।