हात्ती उपद्रो नियन्त्रणको काम तीव्र पारियोस्

पूर्वी दक्षिण—पश्चिम झापाको प्रमुख समस्या बनेको हात्ती उपद्रो नियन्त्रण गर्न जैविक मार्ग निर्माण तथा विद्युतीय तारबार बनाउने योजना स्वीकृत भइ काम थालिएको दुई वर्ष बित्यो । दुई वर्षे यस अवधिमा योजना अनुरूपका कुनै पनि कामले स्थलगत प्रभाव देखाउन सकेको अवस्था छैन । ८ करोड ९० लाख रुपैयाको कार्योजना तयार गरी प्रकृति संरक्षण कोषमार्फत सुरू भएको हात्ती नियन्त्रणको काम कता हरायो भनेर हात्ती पीडितले खोजी गर्न थालेका छन् । यस योजनामा चारआलीदेखि जलथलसम्म हात्ती हिड्ने जैविक मार्ग देउनिया खोलाको आडबाट बन्ने छ भने सो मार्गको पूर्वी र पश्चिम क्षेत्रमा सौर्य उर्जाको विद्युतीय तारवार निर्माण हुने भनिएको थियो । ९ किलोमिटर जैविक मार्गका रूपमा रहने चारआली जलथल वन क्षेत्रलाई जोड्ने ७५ किलो मिटर तार बारको घेराबारा रहने योजना कता हरायो त ? चौतर्फी घेराबाराको तारबार र जैविक मार्ग हात्ती नियन्त्रणको दीर्घकालिन समाधान हुने कार्य योजनाको लक्ष्य रहेको थियो । यो योजना कार्यान्वयनमा आए हात्ती प्रभावित क्षेत्रका स्थानीय जनता जैविक कृषि तथा इको टुरिजमको प्रबन्ध निर्माण भइ स्वरोजगार बन्ने छन् । आय आर्जनको बाटो बलियो भएपछि रोजगारीका लागि बिदेशिनु पर्ने बाध्यता हट्ने छ । यस क्षेत्रमा होम स्टे, हात्ती रिर्सोट र प्राकृतिक चिडियाघर जनताका लागि आय आर्जनको स्रोत बन्ने बताइएको यस योजना सुरू भयो भनिएको दुई वर्षे अबधिमा प्रभावकारी काम भएको कतै पनि भेटिएको छैन ।

गत निर्वाचनताका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले हात्ती समस्या हल गर्न ९ करोडको जैविक मार्ग योजना स्वीकृत गरेको भनिएको थियो । योजना स्वीकृत भएको दुइ वर्ष वर्ष पूरा भए पनि प्रकृति संरक्षण कोष मार्फत काम गरिरहेको जैविक मार्ग बनेको वा काम भइरहेको स्थानीय नागरिकले अनुभव गर्न पाएका छैनन् । विभिन्न गोष्ठी तथा सेमिनारमा मात्र एक करोड बढी खर्च गरिसकेको जैविक मार्ग निर्माण आयोजनाले हात्ती उपद्रो घटाउने काम गर्न सकेको छैन । भर्खरै मकै बाली उठाएका किसान हात्तीबाट घरमा राखिएको मकै जोगाउन भोक निन्द्रा बिर्सन बाध्य छन् । नागरिकका समस्या हल गर्नभन्दा आश्वासनका भारी वर्षाउन तल्लीन जनप्रतिनिधि हात्ती नियन्त्रणका लागि बन्ने भनिएको जैविक मार्गको अलमलप्रति बेखवर रहेकोमा पीडित आक्रोसित बन्न बाध्य भएका छन् ।

भारतको आसाम राज्यबाट काँकरभिट्टा स्थित मेची नदी किनारा हुँदै स—सना झुण्डका रूपमा नेपाल छिरेका १३ वटा हात्तीको झुण्डले झापाको ज्यामिरगढी, दुवागढी, चन्द्रगढी, गरामनी, हल्दिवारी जलथल, पृथ्वीनगर, बालुवाडी, केचना पथरिया घेरावारी लगायत स्थानमा बढी क्षति गर्ने गरेको छ । कृषि बाहुल्य यस क्षेत्रका स्थानीय सरकार भए नभएको अनुभूति विहीन बन्न बाध्य छन् । निर्वाचनका बेला सवै दलका उम्मेदवार दक्षिण झापाको हात्ती समस्या हल गर्ने प्रतिबद्धता लिएर जनताका घर—आँगनमा पुगेका थिए । आज हार्ने उम्मेदवार कता गए ? जित्ने कता पसे ? नागरिकका समस्या जस्ताको त्यस्तै छन् । हात्ती उपद्रो नियन्त्रण अभियान चुनावी नारामात्र बनाएर नागरिकका पीडामा रमिते बन्ने प्रवृत्ति अन्त्य गर्न जिम्मेवार निकाय अगाडी बढ्नु पर्छ । वर्षदमै समस्याको हल भए हिउँदे बाली जोगिन्थ्यो कि भन्ने विश्वास पालेका पीडितले चाहेको छिटो समस्या समाधान होस् । यसैले सरकार हात्ती समस्या समाधान गर्न तीव्र काम गरियोस् । सौर्य तारवारको काम सम्पन्न भए गाउँ गाउँमा रहेको हात्ती त्रास अन्त्य हुने थियो ।