साउन ५ गतेबाट सार्वजनिक सवारीसाधन चल्ने
काठमाडौं । सरकारको निर्णयअनुसार भोलि (सोमबार)बाट सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरू तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायी भोलिबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले सोमबारबाट यातायात सञ्चालन गर्न स्वीकारेका हुन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन हुने बताए ।
सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरूका प्रतिनिधिहरूसँगको छलफलपछि उनीहरू सञ्चालन गर्न तयार भएको उनले जानकारी दिए । कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरू कडाइका साथ पालना पनि गरिने उनले बताए । सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरूले उठाउँदै आएका मागहरू मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरूका अधिकांश मागहरू सम्बोधन भएको उनले बताए
अहिले सार्वजनिक यातायात जिल्लाभित्र मात्र सञ्चालनमा आउनेछन् । काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरू सञ्चालनमा रहेका छन् ।व्यवसायीहरूले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।