सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना
काठमाडौं । आगामी सोमबारदेखि ५ दिन देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू-भाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ । मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । प्रदेश नम्बर १, २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताए । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उनको भनाई छ । मनसुन सुरु हुनुभन्दा पहिले देखि नै औसतभन्दा बढी वर्षा भइरहेको उनले बताए ।
गृहमन्त्रालयमा भएको कार्यक्रममा भूगर्भविद शिव बाँस्कोटाले जमिन चिरा परेको र रुखहरू ढल्किएको ठाउँमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन आग्रह गरे । पानीका मुहानहरू सुक्ने वा पहिले भन्दा बढी र धमिलो पानी आउने ठाउँमा पनि पहिरोको जोखिम रहेकोले यस्तो अवस्थामा सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई उद्धार तथा राहतका लागि तैनाथ गरेर राखिएको बताए । सरकारी गैरसरकारी निकाय पनि तयारी अवस्थामा रही तत्काल परिचालन हुने अवस्थामा रहेको उनले बताए ।
नेपालमा मनसुन सुरु भएको ३० दिन (जेठ ३० देखि असार २७ सम्म) मा मनसुनजन्य विपद्का घटनाबाट १ सय १० जनाको मृत्यु भएको छ । विभिन्न ठाउँमा गएको बाढी, पहिरो, चट्याङ सर्पदंश लगायतका मनसुनजन्य घटनाबाट ३० दिनको अवधिमा १ सय १० जनाको मृत्यु भएको प्राधिकरणले जानकारी दिएको छ । अझै ३२ जना बेपत्ता रहेका छन् भने १ सय ३२ जना घाइते छन् । विपदबाट ४ सय १८ परिवार प्रत्यक्ष प्रभावित भएका छन् । पहिरोका कारण मात्रै ८१ जनाको मृत्यु भएको छ । चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण २ जनाको मृत्यु भएको छ । देशका विभिन्न ३३ जिल्लामा विपद्बाट मानविय क्षति भएको छ भने ६० जिल्लामा विपद्का घटना घटेका छन् ।