कृषि परियोजनाको बजेट खर्च हुन सकेन
भद्रपुर । कृषिको आधुनिकीकरण र व्यावसायीकरणका लागि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा पठाएको आधाभन्दा बढी बजेट खर्च हुन सकेन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाका अनुसार चालु आर्थिक वर्ष २०७६/७७ मा चारवटा जोनमा खर्च हुने गरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट रु सात करोड ७० लाख ७५ हजार बजेट आएको थियो तर कोभिड–१९ र बन्दाबन्दीका कारण रु चार करोड ४३ लाख २६ हजार खर्च हुन सकेन । परियोजनाले कार्यक्रमका लागि आएको रु तीन करोड २७ लाख ४९ हजार मात्र खर्च गरेको छ । कतिपय रकम कृषि तथा पशुपक्षी विकास मन्त्रालयमै फिर्ता भएको छ ।
झापामा चालु आवमा परियोजना एकाइअन्तर्गत धान सुपरजोन, मकैजोन, सुपारीजोन र रबरजोन गरी चार कार्यक्रम सञ्चालनमा छन् । परियोजनाले जोनका कृषक, सहकारी र कृषिफार्मलाई कृषि उपकरण, सौर्य ऊर्जालगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापा प्रमुख रवी`न्द्र सुवेदीले बताए । सुवेदीले बताए अनुसार, धान सुपरजोनतर्फ रु पाँच करोड ५९ लाख ७५ हजार बजेट स्वीकृत भएकामा रु एक करोड ८२ लाख ६४ हजार मात्र खर्च भएको छ । मकैजोनतर्फ रु एक करोड ११ लाख बजेट स्वीकृत भएकामा रु ५९ लाख ७२ हजार मात्र खर्च भएको छ । सुपारीजोनमा रु एक करोड एक लाख पाँच हजार बजेट स्वीकृत भएकामा रु ३६ लाख ५८ हजार मात्र खर्च भएको छ । त्यस्तै रबरजोनमा रु एक करोड बजेट आएकोमा रु ४८ लाख ५५ हजार मात्र खर्च भएको छ ।