आत्मालोचना गर्न प्रधानमन्त्रीलाई वामदेवको आग्रह

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान् रामको जन्म नेपालमा भएको भनी दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न आग्रह गरेका छन् । सोमबार ओलीले भगवान् राम र उनको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको छ । ओलीको अभिव्यक्तिपछि दुई देशको कूटनीतिक सम्बन्धमा नै असर पर्ने भन्दै उनको आलोचना भएको हो । उपाध्यक्ष गौतमले हिन्दू अनुयायी चोट पुग्ने भन्दै प्रधानमन्त्रीलाई सो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका हुन् । प्रम ओलीले सोमबार भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा अयोध्या नेपालको ठोरीमा पर्ने र राम पनि नेपालमै जन्मेको बताएका थिए ।

उनको यो दाबीपछि नेपाल र भारतमा तरंग मच्चिएको छ भने पार्टीकै शीर्ष नेता र अन्यले उनको विरोध जनाएका छन् । ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु,’ वामदेवले भनेका छन्, ‘साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क। केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।’