प्रधानमन्त्रीको चर्चामोहः नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस्

काठमाडौं । भारतले कब्जा गरेको नेपाली भूमिबारे पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा चौतर्फी वाहवाही पाए । सामान्यतया प्रधानमन्त्री पदमा आसिनले विवादित विषयमा सार्वजनिक अभिव्यक्ति दिने प्रचलन लोकप्रिय छैन । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएपनि भारतले कब्जा गरेकाले जनमानसमा यो विषय पीडा दिने गरेको बुझ्न कठिन छैन । यस्तोमा उनको त्यो ‘साहसिक’ अभिव्यक्तिले सम्मान पाउन सक्यो । तर, पछिल्लो समय नियमित रुपमा जुनसुकै स्थानमा प्रधानमन्त्री ओली अभिव्यक्ति दिन थालेका छन् । प्रतिनिधि सभाको बैठक होस् वा कार्यकर्ताको भेला, ओलीको अभिव्यक्ति निरन्तर प्रवाह भइरहेको छ । यी अभिव्यक्ति कति जरुरी थिए कि थिएन भन्ने बहस पनि सँगसँगै चलिरहेको छ

विश्वभर यतिबेला कोभिड–१९ को महामारी व्याप्त छ । नेपालमा पनि यसको प्रत्यक्ष असर परेकाले आर्थिक, सामाजिक, शैक्षिक लगायतका सबै गतिविधि शिथिल छ । प्रधानमन्त्री ओली यी विषयमा प्रवेश नै नगरी अन्य विषयमा आफ्नो अभिव्यक्ति दिइरहेका छन् । सोहीकारण पनि आममानिस अहिले ओलीको नियमित अभिव्यक्तिले ‘इरिटेट’ हुँदै गइरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेट्दै नयाँ नक्शा जारी गरेपछि नै ओलीले चर्चित हुने थ्योरी नै अपनाएको उनका विरोधीहरुको आरोप छ । पछिल्ला समयका घटनाक्रमले पनि यसलाई पुष्टि गर्दै आएको देखिन्छ ।

उनको पहिलो थ्योरी हो, आफ्नो नाम रहोस् ।

प्रधानमन्त्री ओली आफ्नो बारेमा सबैले राम्रो मात्र बयान गरुन् भन्ने चाहन्छन् भन्ने कुरा उनको अभिव्यक्तिबाट थाहा पाउन सकिन्छ । उनले आफू र आफ्नो राम्रो कामको बारेमा लेख्ने मुटु भएका सम्पादक नेपालमा नै छैनन् भनेका थिए । मिडियामा आफ्ना काम बढाइचढाइ गरेर आम जनतामा चर्चित हुने उनको आकांक्षाबारे त्यतिबेला नै चर्को बहस भएको थियो ।

उनको दोस्रो थ्योरी हो, बदनाम भए केही छैन ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बैठकमा बोल्दै भारतबाट आएको कोरोना भाइरस कडा रहेको बताएका थिए । यस्तै भारतको राष्ट्रिय आदर्श वाक्य ‘सत्यमेव जयते’ मा समेत टिप्पणी गर्दे ‘सत्यमेव जयते कि सिंहमेव जयते’ भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको सो भनाईको नेपालमै पनि आलोचना भएको थियो । प्रधानमन्त्री स्तरको व्यक्तिले बोल्दा विचार गर्नुपर्ने भन्दै आलोचना भएको केही समय बित्न नपाउँदै उनले फेरि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे बोले । योगीले भारतीय मिडियामा अन्तर्वार्ता दिँदै नेपाललाई धम्की दिएका थिए । योगीले सीमा नाघेपनि नेपालका प्रधानमन्त्रीले यसबारे बोल्नुलाई कुटनीतिका जानकारहरु गलत भन्दै आएका छन् । यस्तै आफ्नै पार्टीले राजीनामा मागेका बखत प्रधानमन्त्री ओलीले भारतले आफ्नो सरकार गिराउन खोजेको र आफ्नै पार्टीका नेता यसमा सम्मिलित भएको आरोप लगाए । त्यसको कुनै प्रमाण भने उनले दिएका होइनन् । यी भनाईले उनी नेपालमै बदनाम भए । यिनै भनाइका कारण भारतीय मिडियाले ओलीविरुद्ध घृणा फैलने गरी सामग्री प्रशारण गर्न थाले । भारतीय मिडिया विरुद्ध नेपालीले सामुहिक रुपमा आवाज उठाए । यसले फेरि पनि ओलीको चर्चा बढ्यो । यी घटनामा पनि ओलीको इच्छा पूरा भएको जानकारहरुको टिप्पणी छ । उनलाई बदनाम भएकोमा पनि खासै पछुतो रहेको देख्न पाइएको छैन ।

प्रधानमन्त्री ओलीको तेस्रो थ्योरी भनेको उनी गुमनाम हुन चाहँदैनन् ।

कोभिड–१९ को महामारी फैलनुअघिसम्म प्रधानमन्त्री ओलीको हरेक भाषणमा एउटा समानता थियो । उनी हरेक भाषणअघि सरकारले गरेको काम सूचीको व्याख्या गरेपछि मात्र कार्यक्रमसँग सम्बन्धित विषयमा बोल्न सुरु गर्थे । तर अहिले महामारीका कारण उनले त्यस्ता भाषण दिने ठाउँ पनि पाएका छैनन् । उनी भाषण गर्न र आफ्नो बयान गर्नका लागि छट्पटाइरहेका छन् । सोमबार भानुजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उनको यही छट्पटी बाहिर निस्केको जानकारहरुको मत छ । प्रधानमन्त्री ओलीले नेपालमा अहिलेसम्म कहिले सार्वजनिक स्तरमा बहस नभएको विषयमा भनाई राखे । उनले त्रेतायुगका भगवान राम जन्मेको अयोध्या वीरगञ्जको पश्चिममा रहेको ठोकुवा नै गरे । यो बहसको विषय हुनसक्थ्यो तर उनले भारतले सांस्कृतिक अतिक्रमण गरेको समेत भन्न भ्याए । भारतमा यतिबेला भारतीय जनता पार्टी (भाजपा) ले सरकार चलाइरहेको छ । भाजपाको राजनीतिक आधार भनेकै हिन्दु धर्म रहेको छ । अझ विशेषगरी भारतले अयोध्या भन्ने गरेको स्थानमा राम मन्दीर रहेको कि मुस्लिम धर्माबलम्बीको बाबरी मस्जिद रहेको भन्ने विवादबाट भाजपाले आफ्नो राजनीतिलाई केन्द्रसम्म ल्याउन सकेको इतिहास छर्लङ्ग छ । यस्तोमा ओलीले अयोध्याबारे असम्बन्धित कार्यक्रममा बोल्नु र भारतले सांस्कृतिक अतिक्रमण गरेको भन्नुलाई विश्लेषकहरुले चर्चा पाउने उपाय भन्दा बढी नभएको भनिरहेका छन् । यतिबेला आमजनमानसको ध्यान बढ्दो कोभिड–१९ को संक्रमणतिर गइरहेको छ । १६ हजारभन्दा बढी संक्रमित भेटिएको र यसलाई नियन्त्रणमा सरकारको कुनै तदारुकता नदेखेका कारण जनमानस यतिबेला सरकारसँग आशा गर्ने मनस्थितिमा समेत नरहेको बुझिएको छ । जनमानस निराश भएको यो अवस्थामा आफू गुमनाम हुने भयको कारण पनि ओलीको यस्तो अभिव्यक्ति आएको बुझ्न कठिन छैन । उनको अभिव्यक्तिलाई नेपाल भित्रै गैर–कुटनीतिक र गैर–जिम्मेवार भनि आलोचना भइरहेको छ । ओली तथानाम गाली रुचाएकोे तर गुमनाम हुन नरुचाएकै हो भन्ने विषय पछिल्ला सन्दर्भहरुले पुष्टि गरेको जानकारहरु बताउँछन् । यसले तत्कालका लागि उनलाई फाइदा भएपनि दीर्घकालमा असर कस्तो हुने भन्‍ने प्रश्न अहिले पेचिलो बनेको छ ।—सरल टिप्पणी