हिमालय–महालक्ष्मी चियाबगानका श्रमिक आन्दोलित
दमक । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापाको दमकस्थित हिमालय–महालक्ष्मी चियाबगानका श्रमिकहरु आन्दोलित भएका छन् । समयमा ज्याला नदिने र अन्य सुविधासमेत नदिएको भन्दै मजदुरहरू काम नै छाडेर आन्दोलनमा उत्रिएका हुन् । श्रमिकहरुले कामै छाडेर बगानको कार्यालय परिसरमा आफना माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। कोरोना महामारीको संकटको वेला पनि काम गरिरहेका मजदुरले समयमा ज्याला नपाएको गुनासो गरे ।
एक महिनाभन्दा धेरै समयसम्म काम गर्दा बल्लतल्ल १२ दिनको ज्याला पाउने गरेको मजदुरको गुनासो छ । ‘एक महिनाभन्दा धेरै काम गर्दा १२ दिनको पैसा दिन्छन् । यसरी कसरी व्यवहार चल्छ ? घरका सबै यहीँ काम गर्छौँ । यस्तो वेलामा सरसापट पनि पाइँदैन’, मजदुर कमला राई भन्छिन्, ‘सधैँ ज्याला दिने वेला यस्तै गर्छन् , मजदुर कति दिन मर्ने ?’
निरन्तर काम गर्दा पनि समयमा ज्याला नपाएकाले सहन नसकेर आन्दोलनमा उत्रनुपरेको अर्का मजदुर शर्मिला बराइली बताउँछिन् । ‘सुरुसुरुमा घरमा गएर बोलाएर काम लगाए । अहिले ज्याला दिने वेलामा यस्तो गर्छन् । भएका सेवा–सुविधा सबै काटियो । अहिले त चिया टिप्ने बोरा, त्रिपाल, गम्बुट आफैँ किन्नुपर्छ,’ उनले भनिन् ।
बगानले उनीहरूको सञ्चय कोषबापतको पैसा ६ वर्षदेखि जम्मा गरेको छैन । मजदुरको ज्यालाबाट १० प्रतिशत कटाए पनि अहिलेसम्म रकम जम्मा गरेको छैन । यो अवधिमा सबै मजदुरको एक करोडभन्दा बढी सञ्चय कोषबापतको रकम जम्मा गर्न बगान सञ्चालकसँग मजदुरले माग गरेका छन् यस्तै, बगानमा लामो समय काम गरेर निवृत्त भएकाको उपदानबापतको पाँच लाख ३६ हजारभन्दा बढी रकम उपलब्ध गराउन मजदुरहरूले माग गरेका छन् ।
बगानका उपप्रबन्धक खगेन्द्र श्रेष्ठले सबै काम माथिल्लो तहबाट हुने भएकाले आफूले केही गर्न नसक्ने बताए । ‘सञ्चय कोष ६ वर्षदेखि जम्मा हुन बाँकी छ । रिटायर्ड भएर मान्छे मरिसके उपदान पाएका छैनन्,’ उनले भने, ‘मलाई पनि बगानको माया छ । यहाँ काम गरेको तीन दशक भयो । सबै समस्या मलाई थाहा छ । म माथि पुरÞ्याउने काम गर्छु ।’