महिला फुटबलर मनमाया र इन्दिरा सम्मानित

दमक । १३ औं दक्षिण एसियाली खेलकुद (साग )मा रजत पदक विजेता नेपाली महिला फुटबल टोलीका दुई खेलाडी गृह नगरमा सम्मानित भएका छन् । मोरङको लेटाङ नगरपालिकाले महिला टोलीका सदस्यद्वय मनमाया लिम्बू र इन्दिरा राईलाई जनही ५० हजार नगदसहित सम्मान गरेको हो । नगरप्रमुख शंकर राईले उनीहरुलाई नगद र सम्मानपत्र प्रदान गरे । सन २०१४ बाट नेपाली महिला राष्ट्रिय टिमको डिफेन्स लाइन सम्हालेकी लेटाङ–६ की मनमाया हाल सशस्त्र प्रहरी बलमा आवद्ध छिन् । उनले १३ औं सागपछि राष्ट्रिय टोलीबाट सन्यास लिएकी छन् ।

त्यसैगरी सन् २०१८ मा ओलम्पिक छनोटबाट नेपाली राष्ट्रिय टोलीमा परेकी लेटाङ–९ की इन्दिराले नायज्दा कपबाट डेब्यु गरिन् । उनले ओलम्पिक छनोट, नायज्दा कप र १३ औं सागमा नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएकी छन् । विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सेन्टर मिडफिल्डर इन्दिरा दाङमा ड्युटीमा रहेका कारण सम्मानपत्र ग्रहण गर्न उपस्थित भएकी थिइनन् । उनको अभिभावकले सम्मानपत्र ग्रहण गरेका थिए । सम्मानपछि प्रतिक्रिया दिँदै मनमायाले नगरबाट पाएको सम्मानले नेपाली फुटबल विकासमा लाग्न अझ बढी प्रेरणा दिएको बताइन् । सन्यासपछिको समय अब महिला फुटबल विकासमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उनले बताइन् ।