बाढी पहिरोले १५ जनाको मृत्यु, दर्जनौं बेपत्ता र घाइते
काठमाण्डौं । बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरि जनधनको ठूलो क्षति भएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार, शुक्रबार बिहानसम्म १५ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका छन् । केन्द्रका अनुसार, म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् । लमजुङको वेशीसहर नगरपालिका ७ मा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते भएका छन् । कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । रूकुम पश्चिमको आठबिसकोट ३मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन् । ठाउँ ठाउँमा पहिरो गएपछि राजमार्गहरू अवरूद्ध भएका छन् । पृथ्वी राजमार्गको धादिङ बेनीघाटमा पहरो आएपछि राजमार्ग अवरूद्ध भएको केन्द्रले जनाएको छ । तराईका जिल्लामा नदीहरूमा पानीको सतहमा बढिरहेको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताइन् । ’आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ। अबको चार दिन सतर्क रहनु पर्छ’, मौसमविद् पोखरेलले भनिन् ।
विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ । (तस्बिर रासस)