पिसिआर ल्याबका लागि सहकारीद्वारा सहयोग

बिर्तामोड । सहारा नेपाल साकोसको संयोजनमा सञ्चालित ‘एकका लागि एक अभियान’द्वारा जनस्तरमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्यावका लागि बिर्तामोडका चारवटा सहकारी संस्थाहरुले आज चेक हस्तान्तरण गरेका छन् । झापाको कनकाईमाई कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गरिने पीसीआर परीक्षण प्रयोगशालाका लागि झापा जिल्ला सहकारी संघले सहकारी अभियान मार्फत २५ लाख रुपैयाँ जुटाउने प्रतिवद्धता अनुसार रकम हस्तान्तरण गर्न थालिएको हो ।

बिर्तामोडमा आज आयोजित कार्यक्रममा झापा जिल्ला सहकारी संघ मार्फत् बिर्तामोडका चारवटा सहकारीहरुले चार लाख १३ हजार १११ रुपैयाँको चेक प्रदान गरेका हुन् । जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली बचत तथा ऋण सहकारी संस्थाले एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको छ । यस्तै हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार, पब्लिक वचत तथा ऋण सहकारी संस्था बिर्तामोडले एक लाख एक हजार र सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

सामाजिक योगदानका लागि चेक हस्तान्तरण गर्न हाम्रो नेपाल साकोसको तर्फबाट अध्यक्ष भवानीप्रसाद दंगाल र सञ्चालक राजेन्द्र गौतम सहभागी थिए । यस्तै, पब्लिक साकोसको तर्फबाट अध्यक्ष प्रमिला गौतम, सिम्रिक साकोसको तर्फबाट अध्यक्ष कमल बस्नेत र सचिव सुवास भट्टराईसहित विभागीय प्रमुखहरु सहभागी थिए । कर्णाली साकोसका अध्यक्ष टिएस प्रधानले अभियानका सहसंयोजक बिनोद बस्नेतसहित जिल्ला संघका अध्यक्ष ढकाल र सचिव दंगाललाई चेक प्रदान गरेका छन् ।

कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेतले कार्यक्रमको औचित्य र अभियानको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले ‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र एक हजार एक सय व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म एक करोड रुपैयाँ जुटिसकेको जानकारी दिए । कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापामा नै स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि सहकारी अभियान मार्फत सहयोग गरिएको बताए । उनले झापा जिल्ला सहकारी संघको अगुवाईमा हालसम्म पीसीआर परीक्षण प्रयोगशालाका लागि १७ लाख रुपैयाँ सहयोगको प्रतिवद्धता आएको र केही सहकारीले रकमसमेत जम्मा गरिसकेको जानकारी दिएका छन् ।