आज देशभर थपिए २ सय ५५ संक्रमित
काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । आज मात्र कोरोना संक्रमितबाट निको भएर डिस्चार्ज हुने २ सय ५३ जना रहेका छन् । हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ७ सय ५२ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताए । यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनहरुमा २५ हजार ४० रहेका छन् । सरकारले स्थानीय तहहरूबाट शूल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरे बाफत शूल्क लिइरहेको खवर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठाउन आग्रह गरेको छ ।