रेल मार्ग प्रभावितले बुझाए ध्यानाकर्षण पत्र

भद्रपुर । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माण स्थलमा घरजग्गा पर्ने प्रभावितहरूले बन्दाबन्दीको समयमा जग्गा अधिग्रहणको ३५ दिने सूचना जारी गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बन्दाबन्दीका कारण सार्वजनिक यातायात पनि बन्द रहेको वेला सूचना जारी गरिनु विधिसम्मत नभएको बताउँदै प्रभावितहरूले आपत्ति जनाएका हुन् ।

प्रभावितहरूको तर्फबाट प्रभावित समन्वय समितिका संयोजक डा. लक्ष्मीप्रसाद मैनाली र सचिव रञ्जित प्रसाईं नेतृत्वको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना र जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

‘हालका पालिका उल्लेख नगरी तत्कालीन गाविका केही वडा तथा पुराना र कतै नयाँ कित्ता नम्बरसहित जग्गाको क्षेत्रफल वर्ग मिटरमा नभइ साबिक अवस्थाका वि.क., धुरमा उल्लेख भएको छ’, पत्रमा भनिएको छ, ‘हाल जारी सूचना अनुसार रेल प्रभावित क्षेत्रको कित्ता नम्बरहरु स्पष्ट नखुलेको, कित्ता नम्बर नमिलेको, जग्गा क्षेत्रफल स्पष्ट नभएको, सार्वजनिक गरिएको कित्ता र हाल भोगचलनमा रहेको कित्ता नम्बर र क्षेत्रफल मेल नखाएको हुँदा प्रभावितमा गहिरो अन्यौलता छाएको छ ।’

बन्दाबन्दीका कारण पनि सूचना प्रभावितसम्म पुग्न नसकेको भनिएको छ । साथै, रेलवे प्रभावित क्षेत्रमा रेलवे ट्रयाकले दायाँ, बायाँ लिने क्षेत्र, टर्मिनल स्टेशसन आदिले ओगट्ने क्षेत्रको आधिकारिक नक्सा उपलब्ध नभएकाले सर्वप्रथम ओगट्ने क्षेत्रको डिमार्केशनसहितको नक्सा जारी गरी प्रभावितलाई आश्वस्त पार्न पनि भनिएको छ ।

सरकारले २४ जेठमा सार्वजनिक सूचना जारी गर्दै काँकरभिट्टा–इनरुवा खण्ड निर्माणका लागि जग्गा अधिग्रहण गर्ने तयारी गरेको थियो । यो सूचना जारी भए पश्चात रेल मार्ग पर्ने भनिएका स्थानका बासिन्दा संसय प्रकट गर्दै आन्दोलनमा उत्रेको अवस्था छ ।