काँग्रेस बैठकमा देउवाको ब्रिफिङ सत्ता सहकार्यमा ओलीले मागे कांग्रेसको सहयोग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ । ओलीले असार १७ गतेले आफैले र आइतबार आफ्नो निकटस्थ नेतामार्फत देउवासँग भेट गरेर काँग्रेसको साथ मागेका हुन् । पार्टीभित्र ओलीको राजीनामाको माग बढिरहेका बेला ओलीले काँग्रेससँग छलफल अघि बढाएको खुलेको हो ।
आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे समाचारहरुमा आएको विषयबारे प्रश्न गरेपछि देउवाले ओलीसँग भएको भेटवारे ब्रिफिङ गरेका हुन् । आइतबार पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजेदेखि सुरु भएको बैठकमा सुरुमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन कार्यतालिकाकाको बारेमा प्रस्ताव राखेका थिए । त्यसपछि नेकपाभित्रको आन्तरिक विवाद र काँग्रेससँग भएको छलफलबारे देउवाले पौडेलको जिज्ञासाअनुसार ब्रिफिङ थालेका थिए ।
उनले बैठकमा भने, ‘मलाई भन्दा पनि बढी जानकारी मिनेन्द्रसँग छ । यसको वातावरण सबै मिनेन्द्रले मिलाउनु भएको हो ।’ उनले ओलीसँग संसद अधिवेशन अन्त्यअघि टेलिफोटमा कुराकानी भएको तथा बालुवाटारमा पनि भेटवार्ता भएको बैठकलाई जानकारी गराएका छन् । सो बैठकमा ओलीले पार्टीभित्र समस्या रहेको भन्दै यो अवस्थामा आफूलाई सघाउन देउवासँग आग्रह गरेका थिए । ‘कुराकानीका क्रममा प्रधानमन्त्रीले आफ्नो पार्टीको समस्या पनि राख्नुभयो । तपाईँले साथ दिनुपर्छ पनि भन्नुभएको हो । मैले पार्टीमा छलफल गर्छु भनेको हुँ । तर, गणतन्त्रलाई नै खतरामा पार्नेगरी जानुभयो भने त्यो स्वीकार्य हुँदैन भनेर मैले स्पष्ट भनेको छु’, ।
यस्तै आजै काँग्रेस संसदीय दलको कार्यालयमा नेकपा नेता सुवासचन्द्र नेम्वाङसँग आफ्नो छलफल भएको भन्दै उनले सो छलफलमा पनि नेम्वाङले पार्टीभित्र समस्या देखिएकाले सहयोग मागेको जानकारी गराए । ओलीको निर्देशनअनुसार नेम्वाङले नेता रिजाललाई सम्पर्क गरेर देउवासँग छलफलको चाँजापाँचो मिलेको थियो । रिजालसमेत सहभागी सो बैठकमा एमसीसी, नागरिकता विधेयकलगायतको विषयमा पनि कुरा भएको देउवाको भनाइ थियो । एमसीसी पारित हुनुपर्छ भनेर काँग्रेसले निर्णय गरिसकेकाले यसमा अब सरकारले पहल लिनुपर्ने आफूले जवाफ दिएको देउवाको भनाइ थियो ।
बैठकमा भएको छलफल उदृत गर्दै देउवाले पार्टीलाई ब्रिफिङ गर्दै भनेका थिए, ‘नेम्वाङजीले पार्टीका नेताहरुले राष्ट्रपतिमाथि नै षड्यन्त्र हुन खोजेको छ भन्दै सहयोग माग्नु भएको थियो । सो क्रममा सत्ता सहकार्यको प्रस्ताव नेम्वाङबाट आएको जानकारी गराउँदै देउवाले यो विषयमा आफूले केही जवाफ नदिएको बताए । नेम्वाङले केन्द्रीय समिति बैठकमा संसद स्थगितको विषयलाई नचर्काइदिन समेत आफूसँग आग्रह गरेको देउवाको भनाइ थियो । देउवाको ब्रिफिङ पछि काँग्रेस बैठक सत्तारुढ दलबाट आएको प्रस्ताव र महाधिवेशन कार्यतालिकाको विषयमा केन्द्रीत रहेको बताइएको छ ।
काँग्रेसलाई गृहसहित अर्थ मन्त्रालयको प्रस्ताव
प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटवार्ताबारे विभिन्न आशंका उत्पन्न भइरहेका बेला काँग्रेसलाई गृहसहित अर्थमन्त्रालय दिने प्रस्ताव गरेको रहस्य खुलेको छ । आइतबार बिहान सभापति देउवासँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले यदि काँग्रेसले साथ दिने हो भने काँग्रेसलाई गृह अर्थ लगायतका महत्वपूर्ण मन्त्रालय समेत दिन सकिने प्रस्ताव गरेको स्रोतको दावी छ । ‘यदि सहकार्य नै गरेर जाने हो भने, गृह अर्थ लगायतका मन्त्रालय काँग्रेसलाई दिन सकिन्छ । त्यसका लागि तपाईहरुले तयारी गर्दा हुन्छ’ ओलीको सन्देश सुनाउँदै नेम्वाङले काँग्रेस नेतालाई भनेका थिए ।
यसैबीच काँग्रेस बैठक जारीरहेका बेलामा सभापति देउवासहित काँग्रेसका प्रभावशाली नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, रेमश लेखक, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाललगायतका नेताहरु बिहान भएको नेम्वाङसँगको भेटवार्ताबारे छलफल गरेका छन् ।