आज झापामा थप दुई जनामा संक्रमण पुष्टि

भद्रपुर । जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको कुल संख्या २८५ पुगेको छ । संक्रमण पुष्टि हुनेमा दमक नगरपालिका वडा नं ४ र ५ का दुई जना पुरुष रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । उनीहरुको कोशी प्रादेशिक अस्पताल विराटनगरबाट प्राप्त नतिजामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

केही दिन अगाडी बहराईन र कुवेतबाट आएका उनीहरु स्थानिय क्वारेन्टाइनमा बसेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले जनाए ।

झापाको भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४१, बिर्तामोड ३, कनकाई ११, अर्जुनधारा १३, दमक ८, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १८, बाह्रदशी ८ र झापामा २ जना पुगेको छ । झापामा कुल संक्रमित मध्ये १९७ जना निको भएर घर फर्कीएका छन् भने संक्रमणबाट झापामा कसैको पनि मृत्यु भएको छैन ।