राष्ट्रपति भेट्न प्रधानमन्त्री शितलनिवासमा
प्रचण्ड निवासमा खनाल, नेपाल र गौतमको बैठक
काठमाडौं । शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक थप छलफल र सहमतिका प्रयासका लागि भन्दै सोमबारका लागि सारिएको छ । शनिबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितलनिवास पुगेका छन् । भेटवार्ता के विषयमा भएको भन्ने खुलाइएको छैन । यही बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा ओलीइतरका नेकपा शीर्ष नेता छलफलमा जुटेका छन् । प्रचण्ड निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम आन्तरिक छलफलमा जुटेको स्रोतले बताएको छ । यस्तै प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ७ बजे बालुवाटारमा मन्त्रीहरू र राज्यमन्त्रीहरूलाई बोलाएका छन् । श्रोतले दिएको जानकारी अनुसार उक्त बैठक औपचारिक भने होइन ।
नेकपा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन स्थायी समिति बैठकमै आग्रह गरेपछि नेकपाभित्र पछिल्लो विवाद देखिएको हो । प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीका दिन लिम्पियाधुरासहित समावेश गरेको नक्सा जारी गरेपछि भारतीय राज्य प्रशासन संयन्त्र आफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको बताएका थिए । उक्त अभिव्यक्तिलाई लिएर नेकपाभित्रै विवाद छ ।